आज विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै, दुई लाख कार्यकर्ता उतार्ने दाबी

विराटनगर, ८ फागुन । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् ।

प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ ।

प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ ।

प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।

शनिबार दिउँसो करिब १२ बजेबाट सुरु हुने सभामा प्रदेशबाट २ लाख जना सहभागी हुने नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । उनका अनुसार जनसभाबाट गाउँ-गाउँबाट कार्यकर्ता ल्याउनका लागि एक हजार १५ बसको व्यवस्था गरिएको छ । विराटनगरको विभिन्न ६ स्थानबाट र्‍याली निस्कनेछन् ।

‘दुई लाख समर्थक सहभागी हुने हाम्रो अपेक्षा छ,’ ढकालले भने ‘मोटरसाइकल मात्रै १० हजार आउछन्, निजी सवारी पनि धेरै आउछन् ।’

विराटनगरको जनसभा एतिहासिक हुने उनको दाबी छ । भिड धेरै हुने भएकाले दुई स्थानमा प्रधानमन्त्रीको सम्बोधन हेर्न मिल्ने गरी डिस्प्ले स्क्रिन राखिएको छ ।
केही दिन अघि लुम्बिनीमा शक्ति प्रदर्शन गरेको ओली समूहले निर्वाचनको सन्देश दिनका लागि विराटनगरमा सभा आयोजना गरेको हो ।

प्रधानमन्त्री सवारी हुनेभएपछि प्रहरीले विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सुरक्षा सतर्कता उच्च बनाएको बताएका हुन् ।

विराटनगरमा केपी ओलीको कार्यक्रम

शनिबार विहान ११ बजेको फ्लाइटमा प्रधानमन्त्री विराटनगर आउने कार्यतालिका छ । विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा नेताहरुसँग भेटबार्ता गर्नेछन् । मुख्यमन्त्री शेरधन राईसहित नेताहरुसँग होटल एसियाटिकमा छलफल गर्ने कार्यतालिका छ ।

नेकपा केन्द्रीय सदस्य ढकालका अनुसार ११ बजे विराटनगर आइपुग्ने प्रधानमन्त्री ओली साढे १२ बजेमात्रै कार्यक्रम स्थलमा पुग्नेछन् । उनका अनुसार होटल एसियाटिकमा केही समय आराम गर्नेछन् । सभालाई सम्बोधन गरी शनिबार नै काठमाडौं फर्कने तयारी छ ।

‘बिहान ११ बजे आएर बेलुका साढे ४ बजेको फ्लाइटमा फर्कने कार्यतालिका छ ,’ उनले भने ‘ विराटनगरमा जनसभालाई सम्बोधन गर्ने बाहेक अन्य कार्यक्रम छैनन् ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board