मोटरेवल पुल निर्माणमा ढिलाइ

जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ ।

सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र बाँकी रहेका बताइएको छ । ढलान गर्ने कच्चापदार्थ गिट्टी, बालुवा, सिमेन्टलगायतका सामान पुलको पारीसम्म पु¥याउनका लागि गाडी नअटाउने भएकाले झोलुङ्गे पुल हटाउनुपर्ने र्निमाण कम्पनीले जानकारी दिएको छ ।

सेती नदी पारी रहेका स्थानीय तहलाई जोड्ने गरी २०७३ साल नै निर्माण सम्पन्न हुनेगरी उक्त पुलको ठेक्का सम्झौता भएको थियो । लागत अनुमान नै त्रुटि भएका कारण पुल निमार्ण हुन नसकेपछि गत वर्ष लागत परिवर्तन गरी पुनः बोलपत्र आह्वान भई निर्माण कार्य शुरु भएको थियो ।

झण्डै रु आठ करोडको लागतमा निर्माण भइरहेको ६९ मिटर लम्बाइको पानकोट पुल यसै वर्षको चैत महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनी इलाइट कन्स्ट्रक्सनले काम अघि बढाएको थियो ।

मोटरेवल पुलसँगै रहेको झोलुङ्गे पुल नगरपालिकाले हटाउनमा कुनै चासो नदिँदा निर्माण कार्यमा ढिलाइ भइरहेको निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रर्तिनिधि कपिल राइले जानकारी दिए। उनले झोलुङ्गे पुलका कारण सामान ढुवानी गर्न नसकिएको बताए। नजिकै अर्को वैकल्पिक बाटो छैन । झोलुङगे पुल नहटाइ काम गर्न सकिने अवस्था छैन ।

“पुलको सबै काम सकिएको र अब ढलानको काम मात्र बाँकी छ । पुलमा ढलान गर्नलाई झोलुङ्गे पुलले बाधा गरेका कारण आवश्यक साम्रगी पुलमा पु¥याउन सकिएको छैन । पुल नहटाएसम्म पुलको निर्माण सकिदैन । ” उनले बताए ।

जयपृथ्वी नगर प्रमुख वीरेन्द्रबहादुर खड्काले ठेकदार कम्पनीका प्रतिनिधिसँग निमार्णस्थलमै गएर हटाइदिने कुरा भएको बताए । उहाँले भन्नुभयो, “झोलुङ्गे पुलका कारण निमार्णकार्यमा असहज भयो हामीले हटाउदा स्थानीयवासीले काममा असहज गर्लान भन्ने डर छ । तपाईले झोलुङ्गे पुल हटाउनुपर्ने हो भनेर मसँग अनुरोध गरेको हो ।”

क्रस मोटरेवल पुल निमार्ण सम्पन्न पश्चात् पानकोट पुल सेती नदीमा बनेकोे पहिलो हुनेछ । यस पुल बनेपछि बझाङको सेतीपारिका साइपाल, तल्कोट, मष्टा, खप्तडछान्ना, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकावासीले यातायातको सुविधा पाउनेछन् । पुल निमार्णको काम अन्तिम चरणमा पुगेपछि पुल बन्ने आशा पलाएको स्थानीयवासी नरेन्द्र उपाध्यायले बताए ।

उनले सेतीपारीका स्थानीय तहमा सडक सञ्जालको पहुँच भए पनि सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधन बारपार गर्न सकेका छैनन् । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि अस्थायी काठे पुल राखेर यातायातका साधनले ओहोरदोहोर गर्दथे । गतजेठ महिनामा काठे पुल बगाएपछि यातायातका सेवा प्रभावित हुने गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति