‘राष्ट्रपति संस्था हो, त्यसविरुद्ध बोल्न पाइन्छ’ : नेतृ रामकुमारी झाँक्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी ‘सन्काहा प्रधानमन्त्रीको प्यादा’ भएको आरोप लगाएकी छन् । दाहाल नेपाल समूहले काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन् “कसले भन्यो बोल्न पाइँदैन ? सन्काहा प्रधानमन्त्रीको निर्णयमा सहयोगीजस्तो बनेर सहीछाप गर्ने प्यादाकाविरुद्ध बोल्न पाइन्छ, एउटा कोठाको सहयोगीजस्तै मन्त्रिपरिषद्का निर्णयलाई राष्ट्रपतिजस्तो सम्माननीय पद र शीरमाथिको संस्थाले सहीछाप गर्ने अनि हामीलाई बोल्न पाइँदैन भन्ने?”

एकैरातमा सन्की प्रधानमन्त्रीको प्यादा बन्नेका विरुद्ध बोल्न पाइने उनले बताइन् । “राष्ट्रपति संस्थामा कोही निर्वाचित भएर गएर निरंकुशता लाद्छ भने त्यसविरुद्ध बोल्न पाइन्छ। कसले भन्छ बोल्न पाइन्न ? संविधान र लोकतन्त्रविरुद्ध भएको सेटिङविरुद्ध बोल्न पाइन्छ ।”

राष्ट्रपति र प्रधानमन्त्री देशको खलपात्र रहेको भन्दै उनले पदको कुनै लिंग नहुने र राष्ट्रपति व्यक्ति नभएर संस्था भएको बताइन् । यसअघि झाँक्रीले गाेरखामा भएकाे एक कार्यक्रममा राष्ट्रपतिबारे गरेकाे टिप्पणीकाे आलाेचना भएकाे थियाे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको टिप्पणी गरिन् । केपी ओली कागजी बादशाह भएको उनी ढलिसकेको र अब अन्तिम घोषणा मात्र हुन बाँकी रहेको उनको टिप्पणी छ ।

सम्बोधनको शुरुमै मुखमा टाँसेको टेप बाँधेर शुरु गरेकी उनले भनिन्, “नागरिकको मुखमा टेप टाँसिएको छैन । संविधानको चिरहरण गर्नविरुद्ध बोल्न पाइन्छ । सेटिङ र अध्याँरा कोठामा भएका षड्यन्त्रविरुद्ध बोल्न पाइन्छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति