‘खान नजान्दा खाना नै विष बन्छ’

काठमाडौं । स्वस्थ्य जीवनयापनका लागि प्राकृतिक जीवनशैली महत्वबारे पोखरामा प्राकृतिक स्वास्थ्यसम्बन्धी दुई दिने परामर्श गोष्ठी सम्पन्न भएको छ । रोफेका रिफ्लेक्सोलोजी र ऋषिकुल आयुर्वेद परामर्श केन्द्र पोखराको आयोजनामा प्राकृतिक जीवनशैलीसम्बन्धी कार्यक्रममा गब्यसिद्ध डा नरेन्द्र हमालले प्रशिक्षण दिए । डा हमालले मानिसको व्यस्त जीवनशैलीमा आहार–विहारले पार्ने प्रभाव र आफ्नै भान्सादेखि वनजङ्गलमा सजिलै पाइने जडीबुटी र त्यसको प्रयोगले कसरी स्वस्थ्य जीवन जिउन सकिन्छ भन्नेबारे प्रष्टाए । उनले बिहान उठेदेखि बेलुका सुत्ने समयसम्म कस्ता खानेकुरा कुन समयमा खाने र कसरी खाने भन्ने विषयमा राम्रो जानकारी नहुँदा खाना नै विषजस्तै बन्दै गएको बताए ।

वैदिक शास्त्रमा उल्लेख भएका पूर्वजले अपनाएको प्रारब्ध जीवनशैली प्राकृतिक आहार–विहारको महत्वबारे प्रष्ट पार्दै डा हमालले पछिल्लो समय अप्राकृतिक आहार–विहार, रसायनयुक्त खानपिन, विद्युतीय उपकरणको व्यापक प्रयोग र रासायनिक औषधिको दूष्प्रभावका कारण मानव शरीरमा पारेको प्रभावबारे जानकारी दिए । वैदिक गृहम् काठमाडौँका सञ्चालक श्री रवि चपागार्इँले अक्कल बिनाको नक्कल गर्दै जाँदा आफू र आफ्नो परिवारको स्वास्थ्यमाथि नै खेलबाड गरिरहेको बताए । आफ्नो शरीरबारे आफू स्वयंले ध्यान दिएर शुद्ध र स्वच्छ प्राकृतिक खानपानमा ध्यान दिन उनको आग्रह थियो ।

कार्यक्रमका सहभागीले दीर्घकालीन थाइराइड, मधुमेह, उच्च रक्तचाप, मोटोपनालगायत दीर्घ समस्याबारे जिज्ञासा राखेका थिए । सो कार्यक्रममा भान्सा, वनजङ्गल, खेतबारीमा हुने प्राकृतिक जडीबुटी र त्यसको प्रयोगबारे जानकारी गराइएको थियो । दुई दिनको प्रशिक्षणबाट प्राकृतिक जीवनशैलीका विविध पक्षबारे जानकारी लिन सफल भएको सहभागी पुष्पा पुनमगरले अनुभव सुनाए ।

रिफ्लेक्सोलोजीका सञ्चालक वसन्त पौडेलले मानिस प्राकृतिकभन्दा पनि अप्राकृतिक खानपान र जीवनशैली अपनाउँदै जाँदा विभिन्न रोगको शिकार हुनुपरेको अवस्थालाई ध्यान दिएर स्वास्थ्य परामर्शको आयोजना गरिएको बताए । उनले अब वडा तहबाट नै प्राकृतिक भोजन र जीवनयापनबारे सचेतना फैलाउन आवश्यक रहेको औँल्याए । पौडेलका अनुसार कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा व्यवसायी, सामाजिक क्षेत्रका ४० क्रियाशील महिला तथा पुरुषको सहभागिता रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board