चितवनमा पहिलो चरणको खोप अभियान सम्पन्न

पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा छ हजार ९४० जना सहभागी भएका छन् । यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ ।

शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

त्यस्तै पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४००, बघौडा अस्पताल माडीबाट ८९, चितवन मेडिकल कलेजबाट एक हजार ४०, कलेज अफ मेडिकल साइन्सेजबाट ८०८, वृद्धाआश्रमबाट १८९ र कारागार कार्यालय चितवनबाट ६८३ जनाले खोप लगाएका हुन् । खोप शुरु भएको पहिलो दिन २७९ ले खोप लगाएका थिए ।

यो सङ्ख्या बढेर एकैदिन खोप लगाउने एक हजार २५७ सम्म पुगेको थियो । जिल्लालाई दिइएको लक्ष्यमा ९१ दशमलव पाँच प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।

खोप लगाइसकेपछि आठ जनामा सामान्य प्रतिक्रिया देखिएको भए पनि त्यस्तो अप्रिय घटना हुन नपाएको उनको भनाइ छ ।

खोप लगाएकामध्ये चार जनालाई डाबर उठ्ने र चार जनालाई ज्वरो आएको भरतपुर अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति