लक्षणविहीनभन्दा लक्षणसहितका संक्रमितमा उपचारपछि ‘पोस्ट कोभिड सिन्ड्रोम’

केही व्यक्तिहरुमा कोभिड–१९को उपचारपश्चात् पनि निरन्तर स्वास्थ्य समस्या देखिनेगरेका छन । विशेषतः केही समय अगाडिसम्म युरोप र अमेरिकामा रिपोर्ट भएका कोभिड–१९ को उपचारपश्चात् देखिने स्वास्थ्य समस्याहरु नेपालमा पनि देखिन थालेका छन् । कोभिड–१९ को उपचारपश्चात् देखिने यस्ता स्वास्थ्य समस्याको नाममा भने विश्वभर एकरुपता भने पाइँदैन । यसलाई ‘पोस्ट एक्युट कोभिड–१९ सिन्ड्रोम’, ‘ल¨ कोभिड’, ‘ल¨ हौलर’, ‘पोष्ट कोभिड’, ‘पोष्ट कोभिड–१९ सिन्ड्रोम’ आदि नामले चिनिने गरेको छ ।

नेपालमा पहिलो लकडाउनभन्दा अगाडिसम्म देखिएका संक्रमितहरु अधिकांश मात्रामा लक्षणविहीन हुने गर्दथे, र उनीहरु संक्रमणमुक्त भएपछि स्वास्थ्य समस्या देखियो भनेर चिकित्सकसम्म आउने गरेका थिएनन् । तर पहिलो लकडाउनपश्चात् भने संक्रमितमा लक्षणहरु देखिन शुरु भएको थियो भने आइसीयु पनि भरिन थालेका थिए । ती संक्रमितहरुको उपचारपश्चात् केही व्यक्तिहरुको स्वास्थमा समस्या निरन्तर देखियो भनेर चिकित्सकहरुको सम्पर्कमा आउन शुरु भएको थियो । यसरी सरसर्ती हेर्दा लक्षणविहीनमा भन्दा लक्षणसहितका संक्रमितहरुको उपचारपश्चात् स्वास्थमा निरन्तर समस्या देखिने गरेको पाइन्छ । पंक्तिकारले नै सबैभन्दा पहिले नेपालमा ‘पोष्ट कोभिड सिन्ड्रोम’ समस्याको बारेमा लेख प्रकाशित गरेको थियो ।         

कोभिड–१९ को उपचारपश्चात् देखिने निरन्तर स्वास्थ्य समस्याहरुमध्ये अत्यधिक थकाई, श्वास–प्रश्वासमा कठिनाई, खोकी, छाती दुख्ने आदि देखिनेगरेका छन् । पंक्तिकारले भेटेको पहिलो ‘पोष्ट कोभिड सिन्ड्रोम’ बिरामीले चामल केलाउँदा श्वास–प्रश्वासमा कठिनाई, अत्यधिक थकान र छाती दुखेको समस्या बताएका थिए ।

 फ्रान्समा दुइ महिनासम्म गरिएको फलोअप अनुसन्धानमा सघन उपचार नगरिएका दुइतिहाई युवाहरुमा कमजोर महसुस भएको, श्वास–प्रश्वासमा समस्या तथा सुँघ्ने क्षमता नफर्केको भन्ने देखाएको थियो । नेपालमा पनि पंक्तिकारको सम्पर्कमा आएका अधिकांश विरामीहरु युवा उमेर समूहका देखिन्छन् । इटालीमा गरिएको अनुसन्धानले पनि उपचारपश्चात् पिसीआर नेगेटिभ भएकाहरुको दुइ महिनाको फलोअप गर्दा सबैभन्दा बढी अत्यधिक थकान महसुस हुने र श्वास– प्रश्वासमा समस्या देखिएको नतिजा प्रकाशित गरेका थिए । बेलायतमा गरिएको अनुसन्धानमा कोभिड–१९ उपचारपश्चात् थकान, श्वास–प्रश्वासमा तथा मानसिक समस्या सबैभन्दा बढी देखिएका स्वास्थ समस्याहरु थिए । अमेरिकामा गरिएको अनुसन्धानमा खोकी र थकान सबैभन्दा पोष्ट कोभिड समस्याको रुपमा देखिएको थियो । यसरी समग्रमा हेर्दा २÷३ महिनासम्म पनि ‘पोष्ट कोभिड सिन्ड्रोम’को समस्या देखिने गरेको देखिन्छ, जसमा सबैभन्दा बढी थकानको समस्या देखिएको छ ।

पंक्तिकारले नेपालमा पनि यस्ता मानिसमा सबैभन्दा बढीमा थकान महसुस गरेको समस्या देखेको थियो । र, त्यस्तो समस्या हुनेमा बढी युवा उमेरकाहरु नै थिए । ब्रिटिश मेडिकल जर्नलमा प्रकशित लेख अनुसार कम्तिमा १० प्रतिशत संक्रमितमा ‘पोष्ट कोभिड सिन्ड्रोम’को समस्या देखिएको थियो भने अमेरिकामा ३५ प्रतिशतमा देखिएको थियो । यद्यपि थप अनुसन्धान जारी रहेकोले यो प्रतिशत बढ्न सक्ने देखिन्छ ।  

‘पोष्ट कोभिड सिन्ड्रोम’ देखिएकामध्ये केहीलाई भने थप स्वास्थ्य समस्या जटिल अवस्था पुग्ने देखिएको छ । यसमा विशेष गरेर मुटु, मृगौला, फोक्सो, छाला, मानसिक, स्नायुसँग सम्बन्धित समस्याहरु छन् । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित लेखअनुसार ‘पोष्ट कोभिड सिन्ड्रोम’मा तत् अंगसँग सम्बन्धित चिकित्सकसँग परामर्श लिने र आवश्यकताअनुसार जाँचहरु अगाडि बढाउनु पर्ने सुझाव दिएका छन् ।

ब्रिटिश थोरासिक सोसाइटीको निर्देशिकाअनुसार आइसीयुमा नपुगेकाहरुले १२ हप्तामा फलोअप गर्दा छातीको एक्स–रे पनि गर्न अनुरोध गरिएको छ । उपचार गर्दा छातीमा गम्भीर समस्या सृजना भएको भए फलोअप गर्दा छाती रोग विशेषज्ञसँग पनि सम्पर्क गर्नुपर्ने हुन्छ । धेरैमा लक्षणमा आधारित औषधीहरुको प्रयोग गर्न सकिने छ । बेलायतमा ‘पोष्ट कोभिड सिन्ड्रोम’का अस्पताल भर्ना नभएका अधिकांश बिरामीहरु चारदेखि छ हप्तामा सामान्य कसरत गरेर पनि स्वास्थ्यमा सुधार हुने गरेको अब्जरभेसनमा देखिएको छ ।                  

विकसित देशहरुमा ‘पोष्ट कोभिड सिन्ड्रोम’को परामर्श तथा उपचार गर्न मल्टी स्पेसियालिटी तथा रिहाबिलिटी सेन्टरको अवधारणा अगाडि बढाएको देखिन्छ । नेपालमा पनि कोभिड–१९ को उपचारपश्चात् ‘पोष्ट कोभिड सिन्ड्रोम’का बिरामी बढ्दै जाँदा उनीहरु कहाँ कसलाई सम्पर्क गर्ने भन्ने अन्योलमा परेका देखिन्छन् । तसर्थ लाखौं मानिसहरु संक्रमित हुदै गर्दा ‘पोष्ट कोभिड सिन्ड्रोम’का बिरामी पनि बढ्न सक्ने प्रबल सम्भावना देखिन्छ जसको लागि पोष्ट कोभिड परामर्श तथा उपचारको लागि मल्टी स्पेसियालिटी तथा रिहाबिलिटी सेन्टरहरु स्थापना गर्न सके उनीहरुले सहज सेवा पाउने थिए ।  

‘पोष्ट कोभिड सिन्ड्रोम’ कसलाई, किन, कुन अंगमा समस्या देखिने र कति लामो समयसम्म रहन्छ भन्ने प्रश्नहरु अध्ययनकै बिषय बनेका छन् । पोष्ट कोभिडमा देखिने समस्याले गर्दा सो व्यक्तिको कार्य क्षमतामा ह्रास आउने, मानसिक तनाव बढ्ने र काममा एकाग्रता भंग हुने हँुदा दैनिक जीवनको गुणस्तरसमेत खस्केको देखिन्छ । नेपालमा ‘पोष्ट कोभिड सिन्ड्रोम’को संख्या यकिन थाहा त छैन तर यसको समाधानको लागि छुट्टै निर्देशिकाको आवश्यकता भने देखिइसकेको छ । अनुसन्धानमा आधारित निर्देशिका बनाउन सके चिकित्सकलाई उपचार गर्न थप सहज र सहयोगी हुनेमा दुइ मत नहोला ।

(डा. पुन, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board