काठमाडौं । हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् ।
उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ । हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न शुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उनको भनाइ छ । हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् ।
मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ । हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए । हिमालमा हिउँ नपर्नु, तालतलैया नदीनालाका सतह घट्नु, हिमाल सुक्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाइ छ ।
प्रतिक्रिया