जलेश्वरबाट चोरी भयो दुई शहीदको शालिक

काठमाडौं । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ ।

मधेश आन्दोलन २०७२÷७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

वडा नं ११ र वडा नं ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५/७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको प्रतिमा शालिक आज बिहान सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताए । वडाध्यक्ष यादवले गएराति ११/१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट आज बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोजतलाश भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलाश भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति