काठमाडौं, २१ माघ । अमेरिकाको संघीय जांच ब्युरो (एफबीआई) का दुई जना एजेन्टको गोली हानी हत्या भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार फलोरिडा राज्यको एउटा घरमा जाँदा उनीहरूमाथि गोली हानिएको हो । सन् २००८ पछि अमेरिकामा कामको शिलशिलामा रहेका एफबीआई कर्मचारीको हत्या भएको यो पहिलो पटक हो । फलोरिडाको सनराइजस्थित एउटा घरमा बच्चाहरूमाथि अपराध भएको उजुरीका आधारमा अदालतले दिएको पक्राउ पुर्जी लिएर पुगेका एजेन्टहरूमाथि गोली हानिएको हो । अदालतले बच्चाहरूलाई पोर्नोग्राफीमा लगाएको मुद्दामा संलग्नता भएको हुन सक्ने भन्दै उक्त घरमा बस्ने व्यक्तिलाई पक्राउ गर्न भनेको थियो । एफबीआई एजेन्टहरू घरमा जानासाथ घरभित्र भएका मानिसले गोली चलाएका थिए ।
घाइते भएकामध्ये दुई जनाको अवस्था स्थिर छ भने अर्का एक जनाको अवस्था सामान्य नै छ । अभियोग लागेका व्यक्तिले प्रहरीलाई रोक्न अपार्टमेन्ट बाहिर अवरोध लगाएका थिए । उनी पछि अपार्टमेन्टभित्र मृत भेटिएका थिए । ती व्यक्ति को थिए र उनको कसरी मृत्यु भयो भन्ने खुलाइएको छैन ।
प्रतिक्रिया