स्वास्थ्यकर्मी भन्छन् :‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

काठमाडौं,१७ माघ । नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा समेत लगाउन थालिएको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ । कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाट समेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन् ।

बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुशी लागेको बताए । “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो”, डा पराजुलीले भने, “जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु ।”

धौलागिरि अस्पताल नेपालमै पाँचौँ र छैटौँ कोरोना सङ्क्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ । पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गरे । पहिलो दिनमै बागलुङका ११७ स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए । दोस्रो दिन बिहीबार २७८ ले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए । गुरौँका अनुसार बागलुङमा एक हजार ९६० डोज खोप आएको छ ।

डा पराजुलीले जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया देखा पर्ने भन्दै सबैलाई संयमित हुन आग्रहसमेत गरे । खोपका बारेमा चलाइएका अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै डा पराजुली खोप सबैसम्म पु¥याउनुपर्ने र आमनागरिकले अब प्रयोग गर्नुपर्ने धारणा राखे ।

स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिएका । उनले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताए । “सेवामा खटिँदा सङ्क्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु”, घिमिरेले भने, “यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु ।” सङ्क्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुशी भएको उनको भनाइ छ ।

आफूले खोप लगाउन पाउँदा निकै खुशी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताए । आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताए । “पहिले सङक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ”, रिजालले भने, “अब ढुक्क भएर सेवा दिन पाइने भयो ।” खोप लगाउन डराउन नहुने उनको भनाइ रहेको छ ।

यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुशी भएको बताए । अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ । खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रष्ट पारे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति