बलात्कार आरोपमा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटे

काठमाडौँ । किशोरीलाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटेका छन् । जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार विक छुटेका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका-२ साँडेपानीका २४ वर्षीय विकलाई भजनी नगरपालिका-४ बाट १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको जाहेरीपछि कैलाली प्रहरीले पक्राउ गरेको थियो । विकलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको थियो ।

पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन् । उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले विकको निरन्तर खोजी गरेको थियो ।

गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विक भाइरल बनेका थिए । त्यसपछि धेरैले उनलाई आर्थिक सहयोग समेत गरे । अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियो समेत खेलिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति