प्रचण्ड-नेपाल समूह आजदेखि तेस्रो चरणको आन्दोलनमा, दिउँसो सिठ्ठी जुलुस

काठमाडौ, १३ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड -नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोल सुरू गर्दैछ ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल(नेपाल समूहले आज दिउँसो सिठ्ठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलन थाल्न लागेको हो ।

दिउँसो तीन बजेदेखि लैनचौरबाट सिठ्ठी जुलुस निकालेर जनताको आवाज सुन्न प्रधानमन्त्री ओलीलाई दबाब दिन लागिएको प्रचण्ड-नेपालनिकट अनेरास्विवियुका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ । संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा प्रचण्ड-नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने छन्।

बुधबारदेखि २१ गतेसम्म भने संविधानसभा सदस्य, संघीय तथा प्रदेश सदस्यहरूले माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रचण्ड-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्‍याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले पुस १४ गतेदेखि सडक संघर्ष गर्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति