अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

सिड्नी, १२ माघ । अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको बताए । अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोपका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन टिजिए बाट अनुमति प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो ।

प्रधानमन्त्री मरिसनले पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै अस्ट्रेलियाको नियामक निकायले विस्तृत अध्ययन पश्चात फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । उनले यो खोप अस्थायी र आकस्मिक नभई पूर्ण खोपका रुपमा अस्ट्रेलियाले स्वीकार गरेको पनि बताए ।

अस्ट्रेलियाले यसअघि नै फाइजरसँग एक करोड डोज खोपका लागि फाइजरसँग अनुबन्ध गरिसकेको छ । यसबाट करिब ५० लाख मानिसलाई खोप दिन पर्याप्त हुनेछ । कार्यक्रम अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई खोप दिइने छ । प्रधानमन्त्री मरिसनले आगामी अक्टोबरसम्ममा खोप अभियान पूरा हुने पनि जानकारी दिए । भाइरसको प्रकोप देखिनासाथ कडा लकडाउन र सीमाहरु बन्द गरेको अस्ट्रेलियामा तुलनात्मक रुपमा कम संख्यामा मानिस संक्रमित भएका थिए । तैपनि करिब २ करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियामा २९ हजार व्यक्ति संक्रमित भएका र ९०९ जनाको ज्यान गएको थियो ।

अस्ट्रेलियाले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको ५ करोड भन्दा बढी डोज खोपका लागि आदेश दिइसकेको छ । यो खोपको अधिकांश हिस्सा अस्ट्रेलियामै उत्पादन गरिने भए पनि अस्ट्रेलियाको नियामक निकाय टिजिएले त्यसलाई मान्यता दिइसकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति