प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा र सवा लाख दीप प्रज्वलन गरेका छन् ।

धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले राससलाई जानकारी दिए । सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।

पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् । सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए ।

विशेष पूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रधानमन्त्रीलाई प्रसाद लगाइदिएका थिए । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएको पनि कोषले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति