बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान

काठमाडौं । भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका–४ ठूलो पलाँतीमा आर्थिक वर्ष २०७१र२०७२ देखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागको आर्थिक सहयोगमा खेलमैदान निर्माण शुरु भएको थियो । खेलमैदान निर्माणका लागि तत्कालीन सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले पहल गरे ।

चिलाउने र अँगेरीका बुट्यानले ढाकेको बाँदरसमेत लड्ने भीरका नामले चिनिने स्थानमा खेल मैदान निर्माण गरी पुस २२ देखि २८ गतेसम्म जिल्लाव्यापी फुटबल प्रतियोगितासमेत सम्पन्न भएको छ । अँगेर पाखा सामुदायिक वनको भीर पाखा खारेर करिब १० रोपनी क्षेत्रफलमा फैलिएको पर्खाल निर्माण गर्न करिब रु १० करोड नै खर्च भएको छ । विभागले रु सात करोड, पूर्व मन्त्री बस्नेतले आर्थिक वर्ष २०७३र२०७४ मा सांसद पूर्वाधार विकास कोषबाट, स्थानीयवासी एवं सङ्घ संस्थाको समेत सहयोग जुटाएर खेल मैदान निर्माण गरिएको हो ।

भीरमा माथिबाट कटिङ र तलबाट जालीको पर्खाल लगाएर खेलमैदान तयार गरिरहेकै बेला विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकमा बनिरहेको खेलमैदानलाई पनि बाँकी राखेन । निर्माणाधीन खेलमैदानमा पनि भूकम्पले क्षति गरेको पूर्व मन्त्री बस्नेत बताए । भूकम्पले जाली गारो भत्किएपछि भौगोलिकरूपमा भीर, पाखाको दुर्गम बस्तीमा आरसिसी प्लङ ढलान गरेर आकर्षक खेलमैदान तयार भएको छ । पुल बनाउन राखिने रड राखेर बलियो गरी खेलमैदान तयार गरिएको हो । खेलमैदान तयार भएसँगै फुटबल, भलिबललगायत खेलकुदका लागि टाढाटाढा पुग्नुपर्ने समस्या समाधान भएकाले युवावर्ग खुसी भएका छन् ।

भीरपाखा काटेर र पर्खालले उचालेर निर्माण गरिएको खेलमैदानबाट खेलाडी दर्शक नलडुन् भनी करिब ६०० मिटर भागमा नारायणहिटी दरबारको भन्दा आकर्षक डण्डी राखेर बार लगाइएको छ । बार करिब छ मिटर उचाइको छ । यो बार भने निजी क्षेत्रका तर्फबाट निर्माण गरिएको हो ।

खेलमैदानसँगै ठूला र सानाका लागि छुट्टाछुट्टै पौडी पोखरी, कभर्ड हल, स्वास्थ्य चौकी र हेलिप्याडसमेत निर्माण भइसकेको छ । बाह्रबिसे, लामोसाँघु बजार, सुनकोशी र भोटेकोशीलगायत नदी एवं वरिपरिका आकर्षक डाँडाका साथै हिमाली शृङ्खला देखिने खेलमैदान नजिकै भ्यू टावर ९दृश्यावलोकन स्तम्भ० समेत निर्माण गरिने योजना छ । योसँगै ठूलो पलाँतीको यो खेलमैदान जिल्लामै आकर्षक खेल पर्यटकीय स्थलका रूपमा विकास हुने भएको छ ।

खेलमैदान निर्माणमा अहोरात्र खटिएका स्थानीयवासी जनार्दन बस्नेत फुटबल, भलिबल खेल्दा गर्मी भए खेलाडीलाई पौडी खेल्न पोखरी निर्माण गरिएको, स्वास्थ्यमा समस्या आए उपचारका लागि स्वास्थ्य चौकी निर्माण गरिएको बताए । ठूलाका लागि पाँच फिट उचाइ र सानाका लागि तीन फिट उचाइको पौडी पोखरी तयार भएको छ । पौडी पोखरीका लागि चार किमी माथिबाट खानेपानी झारिएको छ । झारिएको खानेपानी जम्मा गर्न एक लाख २२ हजार लिटर क्षमताको ट्याङ्कीसमेत निर्माण गरिएको छ । यसबाट पौडी पोखरीमा बेलाबेलामा पानी फेर्न सहज हुन्छ ।

स्वास्थ्य चौकी निर्माणका लागि अमेरिकाको क्यालिफोर्नियामा बस्ने स्थानीयवासी पूर्वमन्त्री बस्नेतका भाइ प्रकाश बस्नेतले सहयोग गरे । स्वास्थ्यचौकीका लागि एक जना स्वास्थ्य सहायक, कार्यालय सहयोगी, एवं निःशुल्क वितरण गर्ने औषधिसमेत सहयोगस्वरूप अमेरिकाको लायन्स क्लबबाट आउने गरेको छ ।

जिल्लामा खेलकुद एवं खेलाडीको विकास गर्ने उद्देश्यले यो खेलमैदान निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि पहिलोपटक जिल्लाव्यापी फुटबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितमा जिल्लावासीले मात्र भाग लिन पाउने नियम बनाइएको थियो । “जिल्लाका १२ स्थानीय तहमध्ये नौ वटाले भाग लिएको प्रतियोगितका खेलाडीको नागरिकता हेरेर सहभागी गराइयो, जिल्लामा खेलको विकास होस् भन्ने उद्देश्यले जिल्लाका खेलाडी समावेश गरिएको हो, जिल्लाव्यापी अन्तरपालिका स्तरीय खेल गरिएको हो”, नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका प्रमुखसमेत रहेका पूर्वमन्त्री बस्नेतले बताए ।

शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रमा विशेष योगदान दिँदै आएका उनले आफ्ना मातापिता कोमलमायाँ र खड्ग बस्नेतको नाममा स्मृति कप फुटबल प्रतियोगिता आयोजना गरे । जिल्लाका नौ स्थानीय तहले भाग लिएको प्रतियोगिता हेर्न हजारौँ दर्शक उपस्थित भएका थिए ।

ठूलो पलाँती बाह्रबिसेबाट गौरीशङ्कर हिमाल, विगु गुम्बा, कालिञ्चोकलगायत पर्यटकीय स्थलमा पैदल जाने मार्गसमेत भएकाले खेल पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने भएको छ । बाह्रबिसेबाट छ किमीमाथि पर्ने यो स्थल पैदल मार्गका क्रममा पहिलो आराम गर्ने ठाउँ हो । स्थानीयवासी शेखरबहादुर भण्डारी खेलमैदान बनाउने समयमा दुःख भए पनि बनिसकेपछिको संरचना हेरेर आराम भएको सम्झनुहुन्छ । खेलमैदानका केही संरचना अझै निर्माण गर्न बाँकी छ ।

खेलमैदान निर्माणसँगै वडा कार्यालयसँगको सहकार्यमा सानासाना बालबालिकालाई खेल प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणका लागि अखिल नेपाल फुटबल सङ्घ एन्फा ले एक जना प्रशिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ यस्ता खेलमैदानलाई उपयोग गरेर नियमितरूपमा खेल प्रशिक्षण गर्न सहयोग गरिने बताए । वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठ खेलमैदानले स्थानीय युवालाई खेल अभ्यास गर्न सहज भएको बताए । बालबालिका एवं युवावर्गलाई खेल प्रशिक्षण दिन वडाका तर्फबाट सक्दो सहयोग गरिने उनको प्रतिबद्धता छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति