अझै तीन दिन मौसम बदली हुने, यस्तो छ पूर्वानुमान

काठमाडौं । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, मौसमविद् पोखरेलले भने । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने बताइएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेका साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

दिउँसो प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस दुई डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति