प्रदेशगत बृहत कार्यकर्ता भेला गर्दै दाहाल–नेपाल समूह

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले मंगलबार तीन प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ । समूहले प्रदेश नं. २, गण्डकी र कर्णाली प्रदेशमा बृहत कार्यकर्ता भेला गर्ने भएको हो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आवाज उठाउने गरी भेला गर्न लागिएको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशकी संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उनले भनिन्, ‘कार्यकर्ता भेला गर्नैपर्ने समय हो अहिले, यो अहिलेको आवश्यक्ता पनि हो ।’

भेलालाई सम्बोधन गर्नको लागि केन्द्रबाट शीर्ष नेताहरु प्रदेशमा जाने कार्यक्रम रहेको छ । गण्डकीको भेलालाई दाहाल–नेपालसँगै नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गर्ने दाहालका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी गराए ।

दाहाल–नेपाल समूहले सोमबार नै प्रदेश नं. १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत कार्यकर्ता भेला गरिसकेको छ ।

गत ५ पुषमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि अहिले दुवै नेकपाले आ–आफ्नै शैलीमा सभा, सम्मेलन तथा भेला गरिरहेको छ । ओलीले पछिल्लो पटक धनगढी पुगेर आफू निकटका बृहत भेलालाई सम्बोधन गरिसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board