सडक मानवरहित प्रदेश बनाउन प्रतिबद्ध छौँ : मुख्यमन्त्री गुरुङ

काठमाडौं, २१ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक मानवरहित प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मानव सेवा आश्रम केन्द्रद्वारा आयोजित मेची महाकाली राष्ट्रिय उद्धार अभियान, २०७७ का अभियन्तालाई आज पोखरामा स्वागत एवं सडक सेवा तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यसका लागि सबैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे । समाजका विपन्न, असहाय एवं बेसहारा भई सडकमा कष्टकर जीवन बिताउन बाध्य मानवको उद्धार गरेर मानव सेवा आश्रमले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै उनले यस पुण्य कार्यमा प्रदेश सरकारको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गते बालुवाटारबाट शुभारम्भ गरे मेची महाकाली अभियानअन्तर्गत प्रदेश नं १ मा २५६, प्रदेश नं २ मा १२० जना सडक मानवको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष हरि अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशका कास्की, तनहुँ, गोरखा, लमजुङ र स्याङ्जा जिल्लाबाट हालसम्म ६२ जना सडक मानवलाई उद्धार गरिसकिएको बताउँदै उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यक्रम सञ्चालन गरी नेपाललाई सडक मानवरहित मुलुक घोषणा गर्ने अभियानको लक्ष्य रहेको बताए ।

अभियानका क्रममा हात खुट्टाका औँला चुँडिएका, टाउकोमा गम्भीर चोट लागेका, शरीरका विभिन्न भागमा चोटपटक लागेर कष्टकर अवस्थाका सहयोगापेक्षी सडक आश्रित मानवको संस्थाले उद्धार गरिँदै आएको अध्यक्ष अधिकारीको भनाइ छ । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवन श्रेष्ठ, पोखरा महानगरपालिका–१७ वडाध्यक्ष तीर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी र सन्तु सुवेदी, मानव सेवा आश्रमका पोखराका अभियन्ता सुष्मा पौडेललगायतले मानव सेवा आश्रमको योगदान र महत्वमाथि प्रकाश पारे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board