भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने ओलीले भ्रष्टाचार हुन नदिने भन्नु हास्यास्पदः नेतृ झाँक्री

चितवन, २० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु हास्यास्पद भएको बताईन् ।

सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिने र सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश नबन्ने बताईन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नेतृ झाँक्रीले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताईन् । उनले ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’ झाँक्रीले भनिन्, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’

उनले भनिन्, ‘संसद विघटन जघन्य राजनीतिक अपराध हो । संविधानले यो अधिकारै दिँदैन । संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ । संसद विघटन संवैधानिक प्रश्न होइन, कानुनी प्रश्न हो । सर्वोच्चको फूल बेन्चमा यसलाई हेर्नु पर्छ ।’ बाँचुन्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीबाट संसद विघटन भएको उनको भनाई छ ।

केपी ओली र विद्या भण्डारीको सर्वसत्तावादविरुद्ध अगाडि बढ्न आह्वान गर्दै उनले भनिन्, ‘केपी कमरेड तपाइँको राजनीति रसातलमा पुग्यो । तपाइँसँग सेना, प्रहरी सबै छन् तर तपाइँ कानुन मान्नु हुन्न । हामी मान्छौँ । सक्नुहुन्छ भन्ने थुन्नुहोस् हामीलाई । राजालाई त लखेट्यौँ, संसद पुनस्र्थापना त होस्, विघटन गर्नेहरुमाथि पनि हिसाबकिताब हुनेछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति