पत्नी सीताको उपचार गर्न आज मुम्बई जाँदै प्रचण्ड

काठमाडौं , २० पुस । कम्युनिष्ट पार्टी प्रचण्ड-नेपालसमूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि नेपाल सोमबार भारत जादै छन् ।

प्रचण्डको पारिवारिक स्रोतका अनुसार प्रचण्ड सीताको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन्। काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनी नयाँदिल्ली भएर मुम्बई जान लागेका हुन्। अहिले काठमाडौं नयाँदिल्ली रूट नेपाल एयरलायन्स र एयर इन्डियाका दैनिक दुई उडान हुन्छन्।यसअघि आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएका थिए। सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेकाले उनी जान लागेको स्रोतले बतायो। मुम्बईमा सीताको उपचार कुन अस्पतालमा हुनेछ भन्ने खुलाइएको छैन।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति