सूर्य चिन्ह पर्खदैं एक समूह !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद र कलह केन्द्र, प्रदेश हुँदै स्थानीय तह, वडासम्म पुगेको छ । पार्टीकै भ्रातृ संगठनमा पनि त्यसको प्रत्यक्ष र परोक्ष असर पर्दै गएको छ । अधिंकाश जिल्ला, पालिका र पार्टीको भातृ संगठनले छुट्टाछुट्टै भेला गर्न थालेका छन् । मूलत अहिले स्थानीय तहमा नेकपाको ३ पक्ष पाइन्छ ।  एकथरीले प्रचण्ड-माधब पक्षलाई पछ्याइरहेका छन् भने अर्कोथरीले केपी ओलीलाई सामर्थन गरिरहेका छन् । बाँकी रहेको एकथरी सूर्य चिन्ह वा पार्टीको नाम र सम्पत्ति जसले पाउँछ उसैसँग लाग्ने तयारीका साथ बसिरहेका छन् ।

स्थानीय तह, वडासम्मको विवाद र टकराव यतिसम्म बढीरहेको छ कि हिजो सँगै हिंडेका सहकर्मी,सहयोद्धाहरु अहिले एक अर्काे पक्षलाई तल्लो स्तरको गाली गर्न थालेका छन् । एक पक्षले बोलाएको बैठक अर्को समूहले आधिकारिक नभएको भन्दै उपस्थित नहुन सार्वजानिक रुपमै अपील गर्दै आएका छन । दुवै समूहले प्रतिस्पर्धाकै रूपमा जारी राखेका भेला, बैठक र छलफलमा नेतृत्वकै चर्को आलोचना हुने गरेको छ । नेकपाको विवादले प्रदेश–१ को मोरङ, सुनसरी, झापा, धनकुटालगायत जिल्लामा वडा तहसम्मै पुगेको छ ।

प्रदेश १ मा दिनहुँजसो दुवै समूहका बैठक र भेला हुँदै आएका छन् । प्रचण्ड–माधव पक्षले वडा तहसम्म नै निर्देशन पठाएर पुस मसान्तसम्म सबै बैठक र छलफल सकेर आन्दोलनको तयारी गर्न निर्देशन दिएको छन् । नेकपा मोरङले प्रचण्ड–माधव पक्षले पार्टीबाट अर्को निर्देशन नआउँदासम्म पार्टीका स्थानीय तह र वडा तहसम्मका कमिटीको बैठक र छलफल सुरु गरिएको बताए । त्यसो त सधैं केन्द्रमा मात्र रहने नेताहरु प्रतिनिधिसभा विघटन र पार्टी विभाजनपछि जिल्ला दौडमा रहेको क्रममा आ–आफ्नो पक्षमा कार्यकर्ता प्रर्दशन गर्ने होड नै चलेको छ प्रदेश १ मा ।

प्रदेश १ को झापाको बिर्तामोडमा शनिबार  पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीकै गृह जिल्ला आएर प्रधानमन्त्री ओलीले  संविधान कुल्चिएको बताए । नेता भट्टराईले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने छडी दिनुहुँदैन भनेर संबिधानसभामा पैरवी गर्नेहरु नै अहिले विघटनको अधिकार प्रधानमन्त्रीलाई छ भन्दै खुशी मनाइरहेको आरोपसमेत लगाए ।  

त्यस्तै केपी शर्मा ओली समूहले पनि जिल्ला–जिल्लामा छुट्टै बैठक र भेला गरिरहेको छ । शनिबार ओली पक्षले नवनियुक्त नयाँ केन्द्रिय सदस्य, जो मोरङबाट प्रतिनिधित्व गर्छन्, उनीहरुलाई बधाई दिन भन्दै मोरङको नेकपा लेटाङ नगर कमिटीले शनिबार चियापान कार्यक्रम आयोजना गर्यो । लेटाङ, विघटित प्रतिनिधिसभा सदस्य तथा नवनियुक्त केन्द्रिय सदस्य घनश्याम खतिवडाको गृहनगर हो ।

चियापान कार्यक्रममा नेकपा मोरङ जिल्ला अध्यक्ष तथा नेकपा केन्द्रिय सदस्य ऋषिकेश पोख्रेल, विघटित प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडा, पूर्व मोरङ जिल्ला अध्यक्ष विनोद ढकाललगायतले  कार्यकर्तालाई जनताको बहुदलीय जनबादको पक्षमा लाग्न अपील गरेका थिए । ओलीनिकट उनिहरुले अहिलेसम्म पनि पार्टी नफुटेको र ओली नै मूल नेतृत्व रहेको जिकीर गरे । कार्यक्रमको रोचक पक्ष के थियो भने नेकपा लेटाङ नगर कमिटी अध्यक्ष कृष्ण लम्साल, जो प्रचण्ड–माधव पक्षमा छन्, उनले उक्त कार्यक्रम आधिकारिक नरहेको जानकारी सामाजिक संजालबाट गराए । यो घटनाले पनि प्रष्ट हुन्छ स्थानीय तहमा पनि नेकपा विवादको बाछिटा कुन हद सम्म छ भनेर ।  

This image has an empty alt attribute; its file name is 133855072_2759047557680384_2800094493354686275_n.jpg
मोरङस्थित लेटाङमा भएको नेकपा ओली पक्षको चियापान कार्यक्रम ।

पछिल्लो समय पार्टी दुई ध्रुवमा विभाजन भएसँगै दुवै पक्षले आफू मूल र आफू संस्थापन भएको दावी गर्दै आएका छन् । विभाजनले औपचारिकता नपाए पनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन् । धेरैजसो जिल्ला कमिटीका पदाधिकारी प्रचण्ड–नेपाल समूहमा देखिएका छन् । प्रचण्ड–माधवतर्फ ४४ जना जिल्ला अध्यक्ष छन् भने ओलीतर्फ ३१ जना खुलेका छन् । नेकपाको केन्द्रीय तहबाट सुरु भएको विभाजनका चिरा तलसम्म गहिरिँदै छ ।

पार्टी एकताको समयमा पूर्व एमाले र पूर्व माओवादीबीच क्रमशः ४४ र ३३ जिल्ला अध्यक्षको भागबण्डा गरिएको थियो । अहिले आफ्नो कित्ता स्पष्ट नगरेका कतिपय स्थानीय नेताहरुले चुनाव चिन्ह सूर्य र नेकपा नाम र चिन्ह जुन पक्षले पाउँछ त्यतै लाग्ने बताउने गरेका छन् । जिल्ला सचिवको हकमा भने प्रचण्ड–नेपाल पक्षमा ६३ जना खुलेका छन् भने ओलीतर्फ मात्रै १२ जना देखिएका छन् । जिल्ला सचिवमध्ये एकजना तटस्थ रहेको र एउटा जिल्लामा सचिव पद रिक्त
छ । 

(विकास आचार्य नेपाल पेजका लागि समसामयिक विषयमा कलम चलाउँछन् )

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board