नेकपा फुटसँगै एकअर्का पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी !

काठमाडौं, १७ पुष । प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एकअर्का पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ । यसबीच नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको हो ।

प्रचण्ड–नेपाल समूहका नेताहरूका अनुसार मण्डल ओली समूहमा लागेपछि उनलाई अविश्वास प्रस्ताव लगाउने प्रक्रिया अगाडि बढाइएको बताईएको छ । प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश २ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सदस्य शत्रुध्न महतोको भनाई छ ।

नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। यद्यपि दाहाल-नेपाल समूहमा २० जना प्रदेश सभा सदस्यहरूको समर्थन रहेको बताइएको छ ।

दर्ता गराइएको अविश्वास प्रस्तावमा गोविन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, सत्रुध्न महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको महतोले जानकारी दिए। प्रदेशसभा सदस्य सीता गुरूङ र फुलिया देवी सदाय सम्पर्क मै रहेको तर उनीहरूले हस्ताक्षर नगरेको महतोको भनाई छ ।

यस्तै हिजो प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन्। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्। प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि सांसद्लाई कारबाही गरेका हुन् ।

निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जना सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोका कारबाही भने गरेनन् । मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो ।

आफूविरूद्ध अविश्‍वासको प्रस्ताव ल्याउन सांसदलाई हस्ताक्षर गराएको भन्दै शनिबार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोलाई पदबाट बरखास्त गरेका थिए। त्यसको भोलिपल्ट बिहान दाहाल(नेपाल समूहका तीन मन्त्रीले पदबाट राजीनामासमेत दिएका थिए। सोही दिन प्रदेशसभा सचिवालयमा ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराएका थिए।

यस्तै प्रचण्ड(माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड माधव समूहको बिहीबार बसेको बहुमत सांसदको बैठकले मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board