नेकपा फुटसँगै प्रदेश १ मा दुई समूहले गरे एकअर्कालाई कारबाही

काठमाडौं, १६ पुष । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन्। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्।

प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि सांसद्लाई कारबाही गरेका हुन् ।

निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जना सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोका कारबाही भने गरेनन् । मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो ।

आफूविरूद्ध अविश्‍वासको प्रस्ताव ल्याउन सांसदलाई हस्ताक्षर गराएको भन्दै शनिबार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोलाई पदबाट बरखास्त गरेका थिए। त्यसको भोलिपल्ट बिहान दाहाल-नेपाल समूहका तीन मन्त्रीले पदबाट राजीनामासमेत दिएका थिए। सोही दिन प्रदेशसभा सचिवालयमा ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराएका थिए।

यस्तै प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड माधव समूहको बिहीबार बसेको बहुमत सांसदको बैठकले मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति