काठमाडौं १४ पौष । रुकुम पश्चिममा आइतबार अपरान्ह श्रीमानको हत्या गरेर एक महिला आफैँ प्रहरीको सम्पर्कमा आएकी छिन् । जिल्लाको मुसिकोट नगरपालिका– ८ घोरखानी, किटेनीकी ५० वर्षीया डल्ली बुढा आफैँले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएकी हुन् ।
खुकुरी र चक्कु प्रहार गरेर उनले ३९ वर्षीय चित्रबहादुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ। रुकुम पश्चिमका प्रवक्ता कपिल शाहीले हत्यापछि बुढा आफै प्रहरी कार्यालयमा पुगेको बताइन्। ती महिला चक्कुसहित पुगेपछि तत्कालै अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
मृतक थापाको शरीरमा करिब डेढ दर्जन ठाउँमा चोट थियो। बुढाले श्रीमानले आफुलाई कुटपिट गरेपछि रिसको झोकमा हत्या गरेको प्रारम्भिक बयान दिएकी छन्। बुढा र थापाबीच एक वर्षअघि मात्र विवाह भएको थियो। दुवैको दोस्रो विवाह हो। बुढासँग थापाको अनैतिक सम्बन्ध थाहा पाएपछि एक वर्षअघि गाउँलेले बुढालाई थापाको जिम्मा लगाएका थिए। तीन वर्षअघि थापाकी पहिलो श्रीमती उनीसँग छोराछोरी लिएर अलग्गिएकी थिइन्।
प्रतिक्रिया