पाथीभराको जंगलमा लागेको डढेलो मन्दिर नजिक पुग्यो

गत बिहीबारबाट फुङ्लिङ नगरपालिका वडा नं ११ को फावाखोला स्थित सिम्बु सामुदायिक वन क्षेत्रबाट शुरु भएको डढेलो नियन्त्रण बाहिर गइ ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर  नजिकै पुगेको छ । फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराईले डढेलो मन्दिरको पूर्वी क्षेत्रमा पुग्न लागेकोे र डढेलो नियन्त्रण मानवीय प्रयास बाहिर रहेको समेत जानकारी गराएका छन् । 

नियन्त्रण नजिक पुगेको डढेलो फेरी दन्किदा मन्दिर जोखिममा परेको हो । आइतवार साँझ नियन्त्रण नजिक पुगेको डढेलो राति र सोमबार बिहानको हावाको बेगले अझ मन्दिरतर्फ बढिरहेको छ । अहिले मन्दिर नजिक रहेको सबैभन्दा पुरानो रुख जल्दै गरेको र मन्दिर जोगाउन मन्दिरमा टाँगिएका ध्वजापताका, डोरी लगायतका आगोले चाँडो टिप्ने सामग्री फाल्ने तयारी भइरहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिएका छन् ।

उनका अनुसार डढेलो मन्दिर भन्दा केहि तल रहेको फोहोर व्यवस्थापन गर्ने केन्द्रबाट मन्दिरतर्फ अघि बढेको थियो । अहिले पाथीभरा मन्दिरमा रहेका पुजारी र कर्मचारीमार्फत मन्दिर क्षेत्र जोगाउने प्रयत्न भइरहेको थापाले जानकारी दिए । मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलोको धुँवाको मुस्लो सदरमुकाम फुङ्लिङबाटै प्रत्यक्ष देख्न सकिन्छ । पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले मन्दिरको मुल थान र मन्दिर क्षेत्रमा बनेका घर तथा पाटी पौवा बचाउने गरी पहिलो प्रयत्न भइरहेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति