पाहुना घुमाउने ठाउँ बन्यो अम्ब्रेला स्ट्रिट

काठमाडौं, १३ पौष । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ ।

सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा गत वर्ष रु एक करोड ८६ लाख खर्च गरेर अम्रेला स्ट्रिटसहित पर्यटकीय पूर्वाधार बनाइएको थियो । वडाध्यक्ष विष्णु महतोका अनुसार शनिबार मात्र अम्रेला स्ट्रिट प्रवेशका लागि चार हजार ३०० जनाले रु २० को टिकट काटेका छन् ।

गएको फागुन १ गतेदेखि सञ्चालनमा आएको अम्रेला स्ट्रिट १४ दिन सञ्चालनमा आएपछि कोरोना कहरका कारण बन्द गरिएको थियो । कात्तिक १४ गतेदेखि पुनःसञ्चालनमा आएको हो । यससँगै दैनिकरुपमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । महतोले भने “आन्तरिक पर्यटकले हामीलाई उत्साहित बनाएको छ ।”

चितवन र आसपासका जिल्लामा बाहिरी जिल्लाबाट आएका पाहुनाको घुम्ने ठाउँ पटिहानी बनेको उनले बताए । यसबाहेक काठमाडौँ, पोखरा, गोर्खा, विराटनगरलगायतका ठाउँबाट पनि आन्तरिक पर्यटक घुम्नका लागि यहाँ आउने गरेको महतोको भनाइ छ । अम्रेला स्ट्रिट र त्यहाँ रहेको कल्चरल क्यान्भासमा रमाउनेदेखि डुङ्गा शयर, हात्ती सफारी, जीप सफारी, थारु समुदायको खाना खाएर आन्तरिक पर्यटक रमाउने गरेको उनले जानकारी दिए ।

स्थानीय पत्रकार अपिल घिमिरेका अनुसार साँझमा सूर्यास्त र नजिकैबाट दुलर्भ एकसिङ्गे गैङ्डा नियाल्दै गर्दा आन्तरिक पर्यटक निकै रमाउने गर्दछन् । आन्तरिक पर्यटकको चहलपहलसँगै स्थानीय होटल, रेस्टुराँ व्यवसायी पनि लाभान्वित भएका छन् । पटिहानीमा मात्र आठ वटा ठूला होटल रहेका छन् भने १२ भन्दाबढी साना होटल रहेका छन् । आन्तरिक पर्यटक बढेसँगै रेस्टुराँ खुल्नेक्रम बढ्दो छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु एक करोड, भरतपुर महानगरपालिकाको रु ७१ लाख, वडा कार्यालयको रु १५ लाख संरचना निर्माणमा खर्च भएको छ । त्यहाँ ५२० वटा रङ्गीचङ्गी छाता, १० वटा कल्चरल क्यान्भास, सूर्यास्त अवलोकन क्षेत्रलगायतका संरचना निर्माण गरिएको छ ।

होटल एसोशिएशन पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलले कोरोना सङ्क्रमण कम भएसँगै आन्तरिक पर्यटक बढेको बताए । यहाँ घुम्न आउने पर्यटक वन र वन्यजन्तुसँग रमाउने गरेको उनको भनाइ छ । यसै क्षेत्रमा ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा छितामाई मन्दिर र विक्रम बाबासमेत रहेका छन् ।

त्यस्तै कमलपोखरी, लामीताल, तमोरताल अवलोकन र जिप सफारी, पैदलयात्रा, हात्ती सफारी गर्ने व्यवस्था पनि यहाँ गरिएको उनले जानकारी दिए । घटगाई क्षेत्रमा गाडा चढेर पनि आन्तरिक पर्यटकले मनोरञ्जनसमेत लिने गरेका छन् । यहाँबाट निकुञ्ज मुख्यालय कसरामा अवस्थित घडियाल र गोही प्रजनन केन्द्रको पनि अवलोकन गर्न सकिन्छ । पटिहानी छितामाई क्षेत्रबाट निकुञ्जको बाटो भएर सौराहास्थित हात्ती प्रजनन केन्द्रसम्म जीप सफारी रूट रहेको पौडेलको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस क्षेत्रमा एकसिङ्गे गैँडा, बाघ, भालु, हरिण, मृगलगायतका जङ्गली जनावरको पनि अवलोकन गर्न सकिन्छ । राप्ती नदीमा डुङ्गा सयर, गोही, चराको अवलोकनका कारण यस क्षेत्रको फरक विशेषता रहेको छ । थारु, बोटे समुदायको वेशभूषा, संस्कृति प्रदर्शन र उनीहरुले खाने परिकारको पनि स्वाद लिएर पर्यटक रमाउने गरेको पौडेल बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board