रोजगारी सिर्जना र ठगी नियन्त्रण प्राथमिकतामा : मन्त्री चौधरी

काठमाडौं, १२ पौष । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताए ।

मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए । “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उनले भने ।

मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन लागिपर्ने जनाए ।

उनले मन्त्रालयबाट सम्पादन हुँदै आएका कामकारवाही र अब गर्नुपर्ने कामका बारेमा छलफल गरेर अगाडि बढ्ने बताए“अहिलेसम्म मन्त्रालय कसरी अगाडि बढिरहेको छ, विगतको अभ्यासलाई समीक्षा गरेर अगाडि बढ्छु”, उनले भने ।

वैदेशिक रोजगारीमा देखिएको ठगी नियन्त्रण गर्न आफू खरोरुपमा उत्रने बताउँदै , भने “बाध्यताले वैदेशिक रोजगारीमा गएका वा जान लागेका युवा कुनै पनि हालतमा ठगिनु हुँदैन भन्ने मेरो मान्यता छ ।” वैदेशिक रोजगार व्यवसायीले पनि पारदर्शीरुपमा काम गर्नुपर्नेमा जोड दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति