दिक्तेल रुपाकोट मझुवागढीमा सासु भत्ता बैंकिङ प्रणालीबाट

खोटाङ, १० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि कर्मचारीमार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएको छ । कर्मचारीमार्फत वितरण गर्दा हुनसक्ने आर्थिक अनियमिततालाई रोक्दै आगामी दिनमा आर्थिक पारदर्शिता कायम गर्न नगरपालिकाले आउँदो चौमासिकदेखि लागू गरी बैंकिङ प्रणालीमार्पmत वितरण गर्ने भएको हो ।

पन्ध्र वडा रहेको यस नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र सालपा विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाले बैंकसँग सम्झौता गरेअनुसार नगरपालिकाभित्रका सबै ९५१३० लक्षित वर्गले अब सामाजिक सुरक्षा भत्ता लिनका लागि तोकिएको बैंकमा अनिवार्य खाता खोल्नुपर्ने भएको छ ।

नगरपालिका र बैंकसँग सम्झौता गरिएअनुसार सालपा विकास बैंकले वडा नं १ दिक्तेल, ३ बाम्राङ, ५ लफ्याङ, ७ दोर्पाचिउरीडाँडा, ८ दोर्पाबुवालुङ, १० पाथेका, ११ खार्मी, १३ नुनथला, १४ बुइपा र वडा नं १५ विजयखर्क तथा ग्लोबल आइएमई बैंकले वडा नं १२ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । यस्तै ज्योति विकास बैंकले वडा नं २ सोल्मा, सेन्चुरी कमर्सियल बैंकले वडा नं ९ निर्मलीडाँडा र राष्ट्रिय वाणिज्य बैंकले वडा नं ४ खाल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी सम्झौता गरिएको छ । नगरपालिका र बैंकका प्रतिनिधिबीच बिहीबार द्विपक्षीय सम्झौता भएको हो ।

टाढाका सेवाग्राहीलाई भुक्तानी शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने र कर्मचारीको सुरक्षा एवं प्रशासनिक काम नगरपालिकाले व्यवस्था गर्ने गरी समझदारी गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताए । नगरपालिकाले लक्षित वर्गको आवश्यक विवरण बैंकलाई उपलब्ध गराउने र बैंकमा रकम जम्मा गरेपछि सोहीअनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुने जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको खबर सार्वजनिक भएपछि सबै स्थानीय तहले बैंकिङ प्रणालीमार्फत वितरण गर्ने तयारी गरिरहेका छन् । आगामी दिनमा अनियमितता हुन नदिन सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित बैंकसँग सम्झौता गरिरहेका छन् । जिल्लाका केही स्थानीय तहले यसअघि अर्थात् अघिल्लो वर्षदेखि नै बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेका थिए । जिल्लाको सबैभन्दा थोरै पाँच वडा रहेको साकेला गाउँपालिकाले भर्खरै एसबिआई बैंकमार्फत वितरण गर्ने गरी बैंकसँग द्विपक्षीय सम्झौता गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा एकै आर्थिक वर्षमा रु ८७ लाख ४१ हजार ६०० रकम दुरुपयोग भएको पाइएको थियो । आव २०७६/७७ मा वडा नं १ बाँझेच्यानडाँडामा रु २० लाख ३४ हजार ४००, २ रतन्छामा रु १२ लाख २८ हजार, ३ खिदिमामा रु ११ लाख ८७ हजार २००, ४ मात्तिममा रु २२ लाख ८७ हजार २०० र वडा नं ५ मात्तिमबिर्तामा रु २० लाख ४८ हजार अनियमितता भएको पाइएको हो ।

मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको खुलासा भएको थियो । शुरुमा वडा नं ४ मात्तिममा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि उपप्रमुख सरीता खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board