संघीय लोकतान्त्रिक गणतन्त्रको उपलव्धि जोगाउन तयार रहनुस् : प्रचण्ड

काठमाडौं, ९ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्रका विरुद्धको कडीका रुपमा संसद विघटन भएकाले त्यसको प्रतिकार गर्ने बताएका छन् । आज बसेको प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठकमा प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलगायका उपलव्धि जोगाउन जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहुनपर्ने बताएका छन् ।

आफूहरूलाई कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आवश्यक परे जुनसुकै वेला सडकमा आउनुपर्ने प्रचण्डको भनाई छ । संविधान र गणतन्त्रका विरुद्धको कडीका रुपमा संसद विघटन भएकाले त्यसको प्रतिकार गर्दै सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने प्रचण्डले बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले आफूहरुलाई पूर्व पार्टीमा फर्काउने खेल भइरहेकोसमेत बताए । नेकपाको नामसम्बन्धी विवादको पेसी १४ गतेलाई तोकिएको सूचना आएको भन्दै उनले भने, ‘हामीलाई पूर्वपार्टीमा फर्काउन खोजिँदैछ । तर हामीले बकाइदा नेकपा दर्ता गरेका हौं ।’

उनले अघि भने, ‘सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, संविधानकानुन अनुसार फैसला होस् । कुनै षड्यन्त्रलाई सफल हुन नदिइयोस् । नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटनका विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दै बैठक सम्पन्न गरेको छ । आज बसेको प्रचण्ड-माधव पक्षको केन्द्रीय समिति बैठकले भोलिदेखि २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि उनले संघर्षलाई सशक्त पार्ने निर्णय भएको जानकारी दिँदै उनले आन्दोलनका लागि संघर्ष समिति गठन भएको बताए । जसअनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको उनले जानकारी दिए ।

यस्तै सातै प्रदेशका कमिटीको बैठक ११ गते आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको उनले जानकारी दिए । यस्तै पुस २० गतेसम्म सबै नगर, गाउँपालिकामा पार्टीको बैठक र भेला हुनेछ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ । बैठकको समापनमा संसदको कथित विघटन असफल पार्ने भन्दै नेताहरुले ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद’ भन्ने नारासमेत लगाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति