मोरङ, २९ मंसिर । कांग्रेस महामन्त्री शशांक कोइरालाले मुलुकमा राजा कुनै पनि स्वरूपमा आउन नसक्ने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ,’ उनले भने, ‘तर मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन ।’
कोइरालाले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएको भन्दै जेठमा गर्नुपर्ने पनि बताएका छन् । फागुनसम्ममा क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर जेठमा महाधिवेशन गराउनुपर्ने बताए ।
उनले आउँदो महाधिवेशनमा आफूहरूका तर्फबाट जो भए पनि सभापतिको उम्मेदवार एक जना मात्रै हुने स्पष्ट पारे । आउँदो महाधिवेशनका लागि आफू र शेखर कोइरालामध्ये को सभापतिको उम्मेदवार हुने भन्ने निर्णय पार्टीका नेता, कार्यकर्ता र आपसी छलफलले टुंगो लाग्ने बताए ।
तनहुँमा गाउँपालिकाले नै पुल उद्घाटनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाएको अवस्थामा सरकारले गरेको ज्यादतीको विरोधमा देशभरि उत्रिन बाध्य भएको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रतिक्रिया