प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश, तराईमा २ दिन घाम नलाग्ने सम्भावना

अहिले देशमा पश्चिमी वायुको प्रभावका साथै दक्षिणपूर्वी अरेबियन सागरबाट प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको माैसमविद्ले बताएका छन्।

जसको प्रभावले तराईमा अहिले कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।

‘जलवाष्पयुक्त वायुका कारण खासगरी तराई क्षेत्रमा कुहिरो लागेको छ,’ शुक्रबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘यसले २ दिनजति तराई क्षेत्रमा घाम लाग्ने सम्भावना देखिन्न।’

महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ- देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

महाशाखाले जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २६ गते(शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ।

मंसिर २७ गते(शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का/वर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

मंसिर २८ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति