हुस्सुका कारण त्रिभुवन विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको छ।

शुक्रबार बिहान मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ।

बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए। शुक्रबार बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

बिहान करिब ६ः३० बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन।

हुस्सु हटे बिहान १० बजेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए। ‘बिहान एक मात्र अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण भयो। अहिले बाक्लो हुस्सुले भिजिबिलिटी १०० मिटर मात्रै छ, बिहान १० बजेपछि मात्र उडान सामान्य हुनेजस्तो देखिन्छ,’ कर्णले भने।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ।

आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति