कोरोनाको असर: ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले गुमाए रोजगारी

काठमाडौं, १८ मंसिर ।  आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि अपाङ्गता भएका व्यक्तिको २९औँ दिवस मनाइँदैछ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार कोरोना भाइरस सङ्क्रमणको महामारीले ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएको जनाएका छन् । महासङ्घका अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा कायम पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिको सहभागितालाई संसद्मा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना गरेका छन् ।

आफूहरुको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रुपमा वकालतलगायत विभिन्न कार्यक्रम गरी अन्तरराष्ट्रिय दिवस मनाइने उनले बताए । महासङ्घका महासचिव राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिको अनुमोदनपश्चात् र राज्य पुनःसरचनापश्चात्को नयाँ पृष्ठभूमिमा नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारको सवालमा केही राम्रा नीतिगत परिवर्तन भएका भए पनि व्यावहारिक कार्यान्वयनका क्षेत्रमा समस्या रहेको बताए ।

महासङ्घले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणनागरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । सन् १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board