काठमाडौं, १५ मंसिर । सरकारले विज्ञापन बोर्डलाई पूर्णता दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सोमवार विज्ञापन बोर्डका सदस्यमा नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा एवीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कँडेल, ब्रोडकास्टिङ एशोसिएसनका अफ नेपालका (बान)का अध्यक्ष चन्द्र न्यौपानेसहित पाँचजना सदस्यलाई नियुक्त गरेका छन् ।

बोर्डका अन्य सदस्यमा सामुदायिक रेडियो प्रशारक संघ (एको¥याव)का बन्दना दनुवार, राजधानी दैनिकका अध्यक्ष महेन्द्रबहादुर शेरचन, संचारकर्मी बलराम थापा रहेका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सोमबार संचार मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी नव नियुक्त सदस्यहरुलाई बोर्ड सदस्यमा नियुक्ति गरिएको सरकारको पत्र सहित सफलताका साथ काम गर्न शुभकामना समेत दिए । बोर्डको अध्यक्षमा संचार मन्त्रालयका सह सचिव डिल्लीराम शर्मालाई सरकारले यस अघिनै तोकिसकेको छ ।
यसैबीच संचार मन्त्री तथा संचार सचिवको उपस्थितिमा बोर्डका नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठक सोमवार संचार मन्त्रालयमा बसेको थियो । बैठकले यही मंसिर २२ गते बसेर विज्ञापन ऐन २०७६ले दिएको कार्यादेश अनुरुप आवश्यक अध्ययन तथा अन्य कारवाही अघि बढाउने निणर्य गरेको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिए । विज्ञापन ऐन २०७६ले विज्ञापन बोर्डमार्फत् स्वदेश तथा विदेशबाट नेपालमा प्रकाशन र प्रशारण हुने विज्ञापनको लागि आवश्यक नीति–नियम निमार्ण गर्ने र नियमन गर्ने दायित्व दिएको छ ।
प्रतिक्रिया