एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु, तीनजना घाइते

बिराटनगर, १५ मंसिर । बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

बिराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो ।एम्बुलेन्स ठोक्किँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

सप्तरीबाट बिरामी बोकेर बिराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएको थियो ।एक्कासि दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि बिराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो ।

दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक हरिनारायण यादव फरार छन् । लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति