सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने

काठमाडौं, १४ मंसिर । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो ।

यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ । पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँ होटल तथा रेष्टुरेण्ट खुलेका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैँअघि नै यो अभियान चलाउन छलफल भए पनि कोरोनाका कारण स्थगित गरिएको बताए ।

देशका विभिन्न शहरमा सौराहा आउन निमन्त्रणा दिने गरी यहाँका पर्यटकीय गतिविधिसहितको दृश्य देखाइने छ । कोरोनाका कारण सुनसान रहेको यहाँ आन्तरिक पर्यटक भने आउने क्रम भने छिटफुट देखिन थालेको छ । होटल तथा रेष्टुरेण्टले कोभिड प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट भने दिइरहेका छन् । भट्टराईले पाँच देखि सात प्रतिशत मात्रै पर्यटक आएको जानकारी दिए ।

सामूहिकभन्दा व्यक्तिगत छुट प्याकेज गर्ने र त्यसबाट पर्यटक बढे सामूहिक कार्यक्रम ल्याउने सल्लाह भएको भट्टराइको भनाइ छ तर पनि छुटमा पर्यटक आकर्षित नभएको व्यवसायीको गुनासो छ । छुटसहितका प्याकेज दिँदा पनि आन्तरिक पर्यटक आकर्षित नभएको भन्दै सरकारले चाँडै अन्तर्राष्ट्रिय हवाई उडान खोल्नुपर्नेमा व्यवसायीको माग छ । सौराहामा ठूला साना १४० वटा होटल छन् भने करिब ५० वटा रेष्टुरेण्ट सञ्चालनमा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board