इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको फराकिलो जित


काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बर्नलीलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे ।

यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे । बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले छैटौं मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए ।

४१ औं मिनेटमा मेन्डीले गोल गरेपछि पहिलो हाफमा सिटी ३-० ले अघि रह्यो । मेन्डीको यो सिटीका लागि पहिलो गोल समेत हो । खेलको ६६ औं मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४–० को बनाए । त्यसपछि खेलको ६९ औं मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटीले ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

यो संगै महरेज सिटीका लागि प्रिमियर लिगमा ह्याट्रिक गर्ने दोस्रो अफ्रिकन खेलाडी बनेका छन् । यस अघि याया टोरेले सन् २०१४ मा सिटीका लागि ह्याट्रिक गरेका थिए । जितसंगै सिटी लिगको आठौं स्थानमा उक्लिएको छ । सिटीले ९ खेलमा १५ अंक जोडेको छ । बर्नली ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board