दोस्रो लहरको संक्रमण उच्च : एकैदिन १२ हजार संक्रमितको मृत्यु

काठमाडौँ, ११ मंसिर । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा दिन प्रतिदन वृद्धि हुन थालेको छ ।

दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दैनिकजसो नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार संक्रमितको मृत्यु भएको छ ।

एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च रहेको छ ।चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । विश्वभर १४ लाख २५ हजार ८४६ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४६९ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६९६ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५६ हजार ५३३ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५२ हजार २८ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५० हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख ९९ हजार १०१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३ हजार १४९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ६८ हजार १२२ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख २ हजार ७३९ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ८३ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७६८ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३५ हजार २६१ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २० हजार ४२८ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७० हजार ७९९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा ३१८ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २१ हजार २०१ संक्रमितको मृत्यु भएको छ ।

यस्तै ओसियानामा १ हजार ११ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ७ हजार ३५१ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख ३० हजार २९२ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कुल संक्रमितको संख्या ६ करोड ७ लाख ४ हजार १९५ पुगेको छ । त्यसमध्ये ४ करोड १९ लाख ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board