१६ दिने महिला हिंसा विरुद्धको अभियान सुरु

काठमाडौं, १० मंसिर । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने लैगिंक हिंसा अन्त्यका लागि आजदेखि अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानमा महिला, बालिबालिका तथा समाज कल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको सहभागितामा चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

संघीय सरकारका मन्त्रालय, सातवटै प्रदेश सरकार, सबै जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम गरी सामाजिक सचेतना अभियान सञ्चालन गर्ने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ । महिला हिंसा विरुद्धका कार्यक्रम भइरहे पनि हिंसाका घटना भने रोकिएको छैन । तर पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना भने बढेको छ ।

लैंगिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर वुमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेका थिए । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिक रुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।

दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी बोक्सीको आरोप, छाउपडी, दाइजोजस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि रहिरहेका अन्धविश्वास, कुरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको बताए । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गरे । शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको बताउँदै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति