अस्ट्राजेनिका र अक्सफोर्डको कोरोनाको खोप ७० प्रतिशत सफल

लन्डन, ८ मंसिर । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ ।

शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याँक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।

अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दैै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताए ।

अस्ट्राजेनिकाका खोपको तथ्याँक विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ । अमेरिकी खोप निर्माता कम्पनीहरु फाइजर र मोडर्नाले तयार पारेका खोपहरु ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ ।

अस्ट्राजेनिकाले आफ्ना खोपहरु वितरणका लागि विभिन्न देशका नियामक निकायहरु समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य संगठन समक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ ।

कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । यो खोपलाई कम्तीमा छ महिनासम्म दुई देखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board