खवरदार ! केपी-प्रचण्ड रीस र आवेगमा देश डुबाउन पाउनुहुन्न: शारदा शर्मा


तपाईंहरुको ठूलो पार्टी, तपाईंहरुको एकलौटी सरकार साँच्चै जनताका आकांक्षाहरु पूरा गर्न केले रोक्यो रु र, यो ताण्डव नृत्य देखाउदै हुनुहुन्छ ।
आफैँले एकताको आधारमा उभिएर आफूले गरेका वाचा इमानदारीपूर्वक पालना गर्दा तपाईंहरुको कद घट्नेछैन । अझै पनि होशमा आउनुस् कमरेडहरु १ तपाईहरुको यान दुर्घटनामा पर्दा सिंगो देशले क्षति व्यहोर्न बाध्य हुनेछ । जनताहरुले दुःख र बलिदान गरेर आर्जन गरेका उपलब्धिहरुको अन्त हुनेछ – शारदा शर्मा

धेरै बयान नै नगरी विषयमै प्रवेश गरौं भन्दा पनि कलम कहाँबाट घुमाउने अलि बढी नै अन्यौल भयो । तपाईंहरुको पार्टीको मान्छे त हैन म, तर कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियाल्दै जल्दोबल्दो विद्यार्थी संगठन र पार्टीमा काम गरेको विगत र वर्तमानमा ‘सबै बाम एक ठाऊँ’ भन्ने चाहनाले मन अलि उत्साहित बन्दैगर्दा तपाईंहरुको नौटङ्कीले अचम्म मात्र लागेन, दुःख पनि लाग्यो ।

यतिखेर तपाईंहरुको पार्टीका सच्चा मान्छेहरु जो साँच्चै देशको हित चाहन्छन उनीहरुको दुःख बिसाउन नसकिने छ । तर तपाईंहरुसँग त्यस्तो झुण्ड छ, जो पार्टीको नाममा अनेक स्वार्थ सिद्ध गर्न आतुर छ । अनेक ठाउँमा त्यस्ता झुण्डहरुको यति ठूलो लाम छ, जसले केवल अस्थिरता मात्र चाहन्छ । तपाईंहरुको पार्टीका ‘नजिक’ बनेर सेवा सुविधा लिने ठाउँमा खुट्टा बजार्दै दाऊ लगाउनेहरु तपाईंहरुको साँच्चै हित चाहनेहरुको कत्लेआम नै गर्न चाहन्छन् । तिनै मानिसहरुका कुरा सुनेर आफैँले बनाएको सुन्दर बगैंचामा पानी हाल्नेभन्दा पनि बिष हाल्न तत्पर तपाईंहरु साँच्चै अब होशमा आउनुस् ।

हिजो पार्टी एकता गरेर बृहत् यान चलाउन सक्षम छौँ भन्दै घोषणा गर्दा जनताहरु खुशीले गद्गद् बने । साँच्चै तपाईंहरुका पार्टीका समर्थकहरु उत्साहित बने । देश शान्ति र स्थिरतामा रहँदा आफ्नो हित देख्ने आम मान्छेहरुलाई बृहत् कम्युनिष्ट आन्दोलनको एकता उत्सव नै लाग्यो । तर नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्नेहरुले पार्टीमा भएका हुन् या नभएका, तपाईंहरुलाई भित्रबाटै सहयोग गर्नेहरुलाई अनेक शब्दप्रहार गरे । यस्ता मान्छेहरुबाट जोगिएर एकताको पक्षमा लाग्दा तपाईंहरुले अपनाएको गोप्यता अतुलनीय थियो, त्यतिबेला जतिबेला तपाईहरु एकताको जगमा उभिएर विशाल यानको स्टेरिङ चलाउने हिम्मत गर्नु भएको थियोे । तर खुला समाजमा बाटो देखाइएकोसमेत कमिशन लिएर जनतालाई दुःख दिन पल्केका नेकपाको आवरणभित्र र बाहिरका केही झुण्डहरुलाई सैह्य थिएन ।

तपाईंहरुको एकता जसको कारण एकताको शुरुवातबाट नै कित्ताकाट गर्दै उनीहरु रामधुलाइमा लागे । तपाईंहरुले तिनै मानिस र झुण्डको कुरा पत्याउन थाल्नुभयो । हिजो आफूले गरेका वाचा र विश्वसनीयतालाई बिर्सेर ठूलो महासागरमा आएको तुफानी छालमा लत्पतिएको फोहोरले तपार्इंहरुलाई प्रभावित ग¥यो । आन्तरिक र बाह्य शक्तिहरु यो एकताबाट त्रसित बने । जसको कारण एकताको बलमा पद पाएकाहरु नै तपाईंहरुको एकतालाई कसरी असफल बनाउने भनेर कान भर्न सफल भए । दुई पार्टीको एकताले बनेको नेकपाकोभन्दा पनि पूर्व माओवादी र पूर्व एमाले बनेर आफ्नै पूर्वजनहरु जसलाई तपाईंहरुले सक्षम र आफ्नो विश्वासी ठानेर जिम्मेवारीसमेत दिनुभयो, तिनै महान् मानिस र कथित विश्वासपात्रहरुले पूर्व एमाले भन्नेले प्रचण्ड र पूर्व माओवादी भनिएकाले ओलीसमक्ष आफ्ना नेताको उछित्तो काड्न थाले ।

एउटै थालमा खाएर त्यही थालमा क्षद गर्नेहरुका कुरा तपाईंहरुले पनि पत्याउदै जानुभयो । नपत्याउनु पनि कसरी ? जब आफ्नै बाबु खराब भनेर बच्चाहरुले बारम्बार भन्छन् भने वा आफ्नै छोराछोरी खराब भनेर बाबुआमाले अरुलाई भन्छन् भने पुष्टि नहुँदासम्म त पत्याउनै प¥यो । तर तपाईंहरु त यस्ता कुराहरुमा पनि विश्वास गर्न थाल्नुभयो जुन कुरा कुनै हालतमा पुष्टि हुन सक्दैन । कमरेडहरु विश्व अहिले कोरोना महामारीको सामना गर्न गर्दैछ । विश्व नै लकडाउनमा रहेको समयमा तपाईंहरु जनमतको उपहास गर्दै तिनै सिमित मानिसहरुका कुरा सुनेर दुइतिहाइमा बनेको आफ्नै संरचना कमजोर बनाउन लागिरहनु भएको छ ।

तपाईंहरुको ठूलो पार्टी, तपाईंहरुको एकलौटी सरकार साँच्चै जनताका आकांक्षाहरु पूरा गर्न केले रोक्यो ? र, यो ताण्डव नृत्य देखाउदै हुनुहुन्छ । न राम्रोसँग सरकार चलाउन सक्नुभा’छ न, पार्टी । साँच्चै नढाँटी भन्ने हो भने एउटै पार्टीभित्र आफ्नै सरकारलाई राम्रोसँग चलाउन नसकेर सत्ता र शक्तिको लागि एकअर्कालाई प्रहार गर्नु राम्रो हुन्छ र ? जनताले सोचेका थिए कम्युनिष्ट सरकार हाम्रो आफ्नो सरकार हो । देशमा जस्तो आँधीबेहरी किन नआओस् जनताको सरकारले सुझबुझका साथ काम गर्नेछ । जनतासम्म समस्या पुग्न दिने छैन । तर तपाईंहरु त जनताको भन्दा पनि ‘आफ्नो’ बनेर तपाईंहरुलाई नै सिध्याउन खोज्नेहरुको गोटी बनिरहनु भएको छ ।

सरकारले राम्रो काम नगरे यो सुधार गर्नुप¥यो भनेर पार्टीले भन्ने हैन र ? पाटीले बनाएको सरकारले पार्टीले गरेका निर्णय मान्नुपर्ने हैन र ? तपाईंहरु त एकले नराम्रो गरे त्यहीमाथि टेकेर उसको कत्लेआम गर्न तयार हुनुहुन्छ । विरोधी पार्टीजस्तै न सरकारले पार्टीलाइ मान्नु पर्ने न पार्टीले सरकारलाई– के नाटक हो यो ? कतिखेर त आफैंलाई सोध्न मन लाग्छ, के तपाईंहरु साँच्चै कम्युनिष्ट हो र ? यस्ता पनि कम्युनिष्ट हुन्छन् ? तपाईहरुले पार्टी त के, आफूले आफैंलाईसमेत चलाउन सक्नुहुने रहेनछ ।

कोरोना महामारी त छँदैछ । बाढीपहिरोबाट धेरै गरीब जनताको इहलीला समाप्त भएको छ । बाँचेका पनि धेरैको बिचल्ली छ । यस्तो कठिन परिवेशमा दुइतिहाइको सरकार आफ्नै पार्टीभित्र सत्ता र शक्तिको लडाइँमा लाग्नु जनताको लागि कति पीडादायी होला, महशुस गर्न सक्नुहुन्छ तपाईंहरु ?

चाहे जे होस्, जनता अझै पनि आशावादी छन् । तपाईंहरुको पार्टीका सच्चा कार्यकर्ता अझै पनि आशावादी छन् । यो विशाल यानमा पसेको हावा मापन गरेर यानलाई सही मार्गमा लाने सामथ्र्य हाम्रा नेताहरुमा छ भन्दै चियापसलमा कार्यकर्ताले बाजी लगाइरहँदा केही स्वार्थी झुण्डहरुको बहकावमा लागेर यो महान् यान डुबाउने अधिकार तपाईंहरुलाई पक्कै पनि छैन । एकताको आधारमा उभिएर आफूले गरेका वाचा इमानदारीपूर्वक पालना गर्दा तपाईंहरुको कद घट्नेछैन । अझै पनि होशमा आउनुस् कमरेडहरु ! तपाईहरुको यान दुर्घटनामा पर्दा सिंगो देशले क्षति व्यहोर्न बाध्य हुनेछ । जनताहरुले दुःख र बलिदान गरेर आर्जन गरेका उपलब्धिहरुको अन्त हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board