विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख नाघ्यो, १ लाख ३ हजारको अवस्था गम्भिर

काठमाडौं, ८ मंसिर । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार १२ जनामा संक्रमण भएको छ ।

योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख २२ हजार ५७२ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ५ करोड ८९ लाख ८० हजार ५९ पुगेको छ । त्यसमध्ये ४ करोड ७ लाख ६३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४०९ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ९३ हजार ५३७ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार २५६ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ३९८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५५ हजार २४ पुगेको छ । जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४९ हजार ८२३ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा पनि ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ । संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board