नेकपामा विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री र देउवाबीच गोप्य छलफल

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री तथा नेकपा अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग घन्टौँ छलफल गरेका छन्।

स्रोतका अनुसार शनिबार दिउँसो २ बजेपछि करिब तीन घन्टा प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा छलफल भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र यतिबेला विवाद बढेको छ । विवाद बढेको बेलामा प्रधानमन्त्री ओलीले प्रतिपक्ष दलका नेता देउवासंग गरेको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार छलफलका लागि बोलाएका थिए। भेटमा रिक्त रहेका संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल भएको बताइएको छ । छलफलमा प्रधानमन्त्री नेकपा पार्टीभित्र देखा परेका पछिल्ला विवादबारे पनि कुरा भएको स्रोतले बतायो ।

स्रोतका अनुसार पार्टी फुट्ने अवस्थामा पुग्यो भने आगामी दिनमा सहकार्य गरेर अगाडि जाने विषयमा पनि प्रधानमन्त्री र देउवाबीच कुराकानी भएको छ । सो छलफलमा सभापति देउवासँगै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी रहेका थिए । तर, कांग्रेस नेता लेखकले भने भेटमा आफू सहभागी भएको कुरा अस्विकार गरेका छन् । ओली-देउवा भेटबारे दुबै पार्टीले औपचारिक जानकारी भने दिएका छैनन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले उक्त भेटबारे आफुलाई थाहा नभएको बताए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गते सचिवालय बैठकमा ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले आफ्नो राजनीति नै सिध्याउने गरी आएको अभियोगपत्रका रूपमा लिएका छन् । प्रचण्डले उठान गरेका विषयलाई मंसिर १३ गते बस्ने सचिवालय बैठकमा लिखित जवाफसमेत दिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board