कोरोनाबाट जोगिन पूर्व सावधानीका उपायहरूको पालना गर्दै छठ पर्व मनाउन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं, ५ मंसिर ।  राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेकी छन् ।

शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै उनले भनेकी छन्, सम्पूर्ण प्राणीलाई विनाभेदभाव समान रूपमा शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्‌गतिको अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा दिने विश्‍वास लिएको छु ।

शुभकामना सन्देशमा भनिएको छ,नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत हर्षोल्लासका साथ मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि पञ्‍चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजा-अर्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्‍न गर्नाले मनोवाञ्छित फल पाइने, समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्‍ट हटेर जाने जनविश्‍वास रहेको छ ।

सन्देशमा भनिएको छ, विश्वव्यापी रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को बढ्दो संक्रमणका कारण यसबाट जोगिन पूर्व सावधानीका उपायहरूको पालना गर्दै छठपर्व मनाउनका लागि सबैमा आह्वान गर्दछु । समय-समयमा हात धुने, दुई मिटर व्यक्तिगत दूरी कायम गर्ने तथा सही तरिकाले मास्क लगाउने कार्य नै संक्रमणबाट बच्ने उपायहरू हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board