मृत्यु भएको पाँच महिनापछि किन गरियो अन्त्येष्टि ?

झापा, ४ मङ्सिर । मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स युएई मा बुधबार अन्त्येष्टि गरिएको छ ।

युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उनको हृदयाघातबाट मृत्यु भएको थियो । लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए ।

नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ । यसका लागि मेचीनगरमा रहेकी उनकी छोरी रीतु र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।

वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९ नोभेम्बर महिनातिर खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका थिए । उनले २०१९ को नोभेम्ब १३ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिएका थिए । यसैगरी उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको छ । बीमाको म्याद ५ अक्टोबर २०२२ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताए ।

थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीहरुसँग मिलेर कोठा भाडामा बस्दै आएको र उनलाई दिउँसो २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ । नेपालीहरुसँगसँगै बसे पनि साथीलाई उनले आफ्नो घर ठेगानाबारे खुलाउनु भएको थिएन । उनको राहदानी पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board