सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

काठमाडौं ४ मंसिर । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग बीबीएल टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने उसले खुलाएको छैन ।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेको हो । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिगेका थिए । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिए । अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उनको भनाइ छ । इन्डियन प्रिमियर लिग आइपीएल बाट फर्किनुभएका उनी हाल चितवनस्थित घरमा बस्दै आएका छन् । । यस पटकको आइपीएलमा उनले कुनै पनि खेल खेल्न पाएनन् ।

यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए । सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उनको भनाइ छ । सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गरे ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board