गोठाला जीवन: कुकुरको सुरक्षाकै भरमा घना जङ्गलमा गोठको बास!

बेनी, ३० कात्तिक । वरिपरि जङ्गलले घेरिएको बीचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जङ्गलको छेउको चौरमा रहेको भेडीगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिइएको छ । यो म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पुतलीडाँडा नजिकको भेडीगोठको दृश्य हो । बस्तीदेखि एक दिनको यात्रापछि पुगिने यहाँको भेडीगोठको सुरक्षाको सम्पूर्ण जिम्मेवारी गोठमा रहेका पाँच वटा भोटे जातका कुकुरको रहेको भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए ।

करिब ४०० भेडाबाख्रा रहेको छन्त्यालको गोठमा दुई जना हेरालु छन् तर उनीहरुको जिम्मेवारी भेडाबाख्रालाई चरण क्षेत्रमा लगाउने र गोठको सामान ओसार पोसार गर्ने मात्रै हो । गोठमा रहेका भेडाबाख्रालाई जङ्गली जनावरबाट बचाउने र गोठका हेरालुहरुको समेत सुरक्षाको प्रमुख जिम्मेवारी गोठमा रहेका कुकुरहरुकै रहेको भेडापालक कृषक छन्त्याल बताए ।

गोठमा रु १५ देखि ६० हजारसम्ममा छन्त्यालले कुकुर खरिद गरी गोठमा पालेको छ । चरणक्षेत्रदेखि रातमा सिङ्गो गोठको सुरक्षाका लागि कुकुर नै पहिलो रक्षकको रूपमा रहेको छन्त्याललको अनुभव छ । गत वर्ष रोगका कारण गोठमा कुकुर मरेपछि आफ्नो गोठमा १५ दिनको अवधिमा बाघ र चितुवाले १५ वटा र स्यालले ५ वटा भेडाबाख्रा मारेको छन्त्यालले जानकारी दिए । “कुकुर भएको समयमा अहिलेसम्म गोठमै बाघ र चितुवा आउन सकेका छैनन्, कहिलेकाहीँ कुकुरको आँखा छलेर चरणक्षेत्रमा भने आक्रमण हुने गरेको छ, भेडीगोठको रक्षक भनेकै कुकुर हो”, उेनले भने ।

भेडीगोठमा रहेका भेडाबाख्रासँगै कुकुरहरु समेत चरणक्षेत्रमा जाने गर्छन् । बेँसीदेखि हिमालको फेदीसम्म घना जङ्गलका बीचमा गोठ राख्दै आएका मल्कबाङका अर्का भेडापालक कृषक कमरा विकले कुकुरहरु आफ्नो सुरक्षाको सिपाही र गोठको सारथी भएको बताए । जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने चलन रहेको छ । दिनको समयमा चरण क्षेत्रमा जाने कुकुरहरु रातको समयमा भेडाबाख्रा बसेको चौरको वरपर बसेर भेडाबाख्रा र गोठको पहरेदारको काम गर्ने विकको भनाइ छ । “यहाँ मेरो साथी भनेकै कुकुर हो, रात होस् या दिन, मेरो र गोठमा रहेका भेडाबाख्रालाई जङ्गली जनावरको आक्रमणबाट बचाउने जिम्मा उसैको हो”, विकले भने ।

घरपालुवा गुनिलो जनावरको रूपमा चिनिने कुकुर केही वर्ष अघिसम्म ग्रामीण भेगका घरघरमा पालिन्थे । समाज विकाससँगै गाउँघरमा समेत कुकुर पालन हराउँदै जान थाले पनि अनकन्टार जङ्गल र हिमालको फेदीमै पुगेर गरिने भेडाबाख्रा पालनका लागि भने कुकुर अत्यन्तै महत्वपूर्ण र उपयोगी रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board