यसकारण हुन्छ, मधुमेहका बिरामीमा कोरोनाको बढी जोखिम

काठमाडौं, २९ कात्तिक । २१ औं शताब्दीकै सर्बाधिक डरलाग्दो रोगको रुपमा संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट हालसम्म २ कोरोड २६ लाख भन्दा बढीलाई सार्स–कोभि –२ (SARS-COV-2) अथवा कोभिड –१९ बाट प्रभावित भइसकेका छन् । यस अवधिमा झण्डै ८ लाख ब्यक्तिहरुले ज्यान गुमाइसकेका छन् । तथ्यांक हेर्दा युवा जनशक्ति तथा दीर्घकालीन रोग नलागेका व्यक्तिमा लक्षण दर र मृत्युदर थोरै मात्र देखिएको छ । तर विभिन्न जोखिम कारकहरुको उपस्थितिमा मृत्युदर पनि बढेको पाइन्छ ।

मधुमेह धेरै प्रकारका हुन्छन् । नेपाललगायत विश्वभर मधुमेह टाइप १ भन्दा मधुमेह टाइप २ का बिरामी धेरै छन् । टाइप १ र टाइप २ का मधुमेहबाहेक २० वर्षभन्दा कम उमेर समुहलाई लाग्ने मधुमेह, वृद्धाृवृद्ध भएपछि लाग्ने मधुमेह पनि हुन्छ । त्यसैगरी, गर्भवती अवस्थामा देखिने मधुमेह रोग पनि हुन्छ ।

के हो मधुमेह (Diabetes) ?
खानेकुराबाट शरीरले ग्लुकोज प्राप्त गर्छ । उक्त ग्लुकोज शरीरको कोषहरुले उपयोग गरेर शरीरको हरेक कार्यमा उर्जाको रुपमा प्रयोग हुन्छ । मधुमेहमा रगतमा ग्लुकोजको मात्रा बढ्ने गर्दछ जसले विभिन्न समस्या उत्पादन गर्छ । मानिसको पेटमा अग्न्याशय (Pancreas) नामक ग्रन्थी हुन्छ, जसले इन्सुलिन (Insulin) नामक हर्मोन उत्पादन गर्ने गर्छ । साधारणतया शरीरमा ग्लुकोजको मात्रा बढेमा उक्त इन्सुलिन सक्रिय भएर रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्छ । मधुमेह रोगमा यदि इन्सुलिन हर्मोनमा अनियमितता भई रगतमा ग्लुकोजको मात्रा अनियन्त्रित भएर बढ्ने गर्छ । रोगको कारकको आधारमा मधुमेहलाई प्रकार–१ (Type-1 Diabetes) र प्रकार–२ (Type-2 Diabetes) मा बिभाजित गरिएको छ । मधुमेह प्रकार –१ स्वत प्रतिरक्षा रोग (Autoimmune disease) हो, जुन मधुमेह रोगीमध्ये १० प्रतिशतमा देखिन्छ ।

यसमा हाम्रो शरीरको रोग प्रतिरोधी प्रणालीले (Immune System) इन्सुलिन उत्पादन गर्ने कोषमा आक्रमण गर्छ । मधुमेह प्रकार–२, जुन ९० प्रतिशत मधुमेहको रोगीमा देखिन्छ, यसमा शरीरले इन्सुलिनको प्रयोग नै प्रतिरोध गर्छ, जसकारण शरीरमा ग्लुकोज जम्मा हुने गर्छ । त्यसरी जम्मा भएको ग्लुकोजले आँखा, मिर्गौला, मुटु, स्नायु तथा अन्य अंगहरुमा प्रभाव पार्छ । प्रकार –२ मधुमेहमा वंशाणुगत प्रभाव रहेको हुन्छ । त्यस्तै मोटापन, बृद्धावस्था, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल (Cholesterol) असक्रिय जीवनशैली आदिको पनि प्रकार–२ मधुमेह गराउन प्रमुख भूमिका रहेको देखिन्छ ।

मधुमेहका लक्षण तथा जटिलता :
मधुमेहमा देखिने प्रमुख लक्षणहरुमा धेरै तिर्खा लाग्ने, भोक लाग्ने र बारम्बार पिसाव लाग्ने पर्दछन् । त्यस्तै अन्य लक्षणहरु तौल घट्नु, आँखा धमिलो देख्ने, ज्यादा थकान महसुस हुनु, चोटपटक लाग्दा निको हुन धेरै समय लाग्ने आदि हुन् । यसका साथै पुरुषमा मांसपेशीको तागत कम हुने, कामेच्छा (Libido) घट्ने साथै नपुंसकता समेत हुनसक्छ ।

त्यस्तै महिलामा पिसावको संक्रमण, त्वचा चिलाउने, बारम्बार संक्रमणहरु देखिरहने हुनसक्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएर निको हुन कठिनाई भई यस्तो समस्या देखिने गर्छ । मधुमेहका कारण देखिने दीर्घकालीन प्रभाव तथा जटिलतामा मुटु रोग, हृदयघात, मस्तिष्कघात, स्नायु क्षति, मिर्गौला क्षति, आँखाको रेटिना (Retina) क्षति, कानको सुन्ने शक्तिमा ह्रास आउने, खुट्टामा निको नहुने घाउहरु छालाको संक्रमणहरु, डिप्रेशन आदि देखिनेछन् ।

उपचार पद्धति :
मधुमेहको जाँच गर्न उपवास ग्लुकोज मात्रा (Fasting glucose level) हेरिन्छ जसमा आठ घण्टा खाली पेट रहेर ग्लुकोजको मात्रा नापिन्छ । त्यस्तै ए.वन.सी. (A/C) जाँच पनि मधुमेह जाँच्न प्रयोग हुन्छ, जसले पछिल्लो ३ महिनाको ग्लुकोज मात्रा देखाउने गर्छ । त्यस्तै खाना खाएको २ घण्टामा नापिने पोस्ट–प्राण्डियल (Post-Prandial) ग्लुकोज पनि मधुमेह पत्ता लगाउन सहयोगी हुन्छ । व्यक्तिका लक्षण र रगतको जाँचको माध्यमबाट मधुमेह निदान गरिन्छ । कतिपयमा शारीरिक व्यायाम र उचित भोजनले नै ग्लुकोजको मात्रा सन्तुलन गर्न पर्याप्त हुन्छ । जीवनशैली परिवर्तनको माध्यमबाट रोग नियन्त्रणमा नआएमा औषधोपचार आवश्यक पर्छ ।

धेरै प्रयोगमा आउने औषधिहरुमा मेटफर्मिन (Metformin), ग्लिपिजाइड (Glipizide), ग्लिमेपेराइड (Glimeperide) इन्सुलिन आदि पर्छन् । आवश्यकताका आधारमा एउटाभन्दा बढी औषधि लिनुपर्ने हुनसक्छ । इन्सुलिनको प्रयोग मधुमेह प्रकार –१ को रोकथाममा प्रयोग गरिन्छ भने प्रकार–२ मा पनि केही अवस्थामा प्रयोग गरिन्छ । मधुमेहमा भोजनमा कोर्बोहाइड्रेट (Carbohydrate) को मात्रा मापन गरी ग्रहण गर्नु जरुरी हुन्छ । त्यस्तै तौल घटाउने, व्यायाम गर्ने र दिनभरमा थोरै मात्रामा धेरैपटक खाने बानी बसाल्नु पर्छ । मधुमेहका रोगीले खान नहुने भोजनहरुमा गुलियो तरल पदार्थहरु, ट्रान्स फ्याट (Transfat), मह, जंक फूड (Junk food) गुलियो स्वाद भएका खानेकुराहरु, फलफुलका जुस, आलु, चामल आदि हुन् ।

रोग लागिसकेपछि उपचार गर्नका निम्ति नियमित औषधि सेवन गर्नुपर्ने झन्झटबाट जोगिन रोग लाग्नुपूर्व नै सचेतना अपनाउने र रोकथामका उपायहरु अपनाउनु नै बुद्धिमानी हुन्छ । रोकथामका लागि दैनिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने, सन्तुलित तथा स्वस्थ भोजन खाने, चिल्लो मसलेदार खाना कम खाने, चुरोट खैनी, अल्कोहोलजन्य पेय पदार्थ नखाने तथा बेलाबेलामा आफ्नो रगतमा ग्लुकोजको मात्रा मापन गर्नु जरुरी छ । त्यस्तै बृद्ध तथा बंशाणुगत जोखिममा रहेका व्यक्तिहरुले विशेष ध्यान राख्नु आवश्यक हुन्छ ।

मधुमेहका रोगीमा कोरोनाको डर :
मधुमेहका रोगीमा ग्लुकोजको मात्रा तलमाथि भइरहने तथा विभिन्न जटिलता देखिने हुनाले भाइरल संक्रमण भयो भने उपचारमा थप समस्या आउँछ । यसका मुख्य कारणमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुनु हो जुन मधुमेहको परिणाम हो । त्यसैगरी ग्लुकोजको मात्रा बढी भएको वातावरणमा भाइरस फस्टाउने हुनाले पनि समस्या देखिन्छ । संक्रमणसँग लड्न शरीरले विभिन्न हर्मोन बनाउँछ जसले ग्लुकोजको मात्रा एकदमै बढाउने गर्छ जसका कारण इन्सुलिनले समेत नियन्त्रण गर्न कठिन पर्छ ।

त्यसैले मधुमेहका रोगी तथा परिवारले स्वास्थकर्मीसँग सहकार्य गरेर अन्य रोग लागेका बेलामा ग्लुकोजको मात्रा कतिमा राख्ने, औषधिको मात्रा कसरी मिलाउने, आवश्यक परेको बेला यथाशक्य छिटो स्वास्थसेवा कसरी प्राप्त गर्न सकिन्छ तथा कति कति समयमा ग्लुकोजको मात्रा नाप्ने भन्ने बुँदाहरुमा छलफल गरी योजना बनाउनु पर्छ । त्यस्तै आवश्यक औषधिको व्यबस्था गर्ने उपाय अथवा पछिसम्मको लागि औषधि संकलन गर्ने गर्न सकिन्छ । औषधिको नियमित सेवन, झोल पदार्थ धेरै खाने, तौल सन्तुलनमा राख्ने, ज्वरो नाप्ने आदि गर्नाले संक्रमणका कारण हुने जटिलतालाई समयमै रोक्न सकिन्छ ।

प्रकार –१ मधुमेहका रोगीले इन्सुलिन नियमित लिने, इन्सुलिनको मात्रा बढाउन पर्ने परिस्थिति बुझेर मात्रा मिलाउने, प्रत्येक चार घण्टा ग्लुकोज मात्रा नाप्ने, गुलियोको मात्रा नभएको झोल पदार्थ प्रशस्त पिउने र ग्लुकोजको मात्रा ११० देखि १८० भित्र सीमित राख्ने गर्नु आवश्यक रहन्छ । साथै धेरै बान्ता भएमा, २४ घण्टा भन्दा बढी ग्लुकोजको मात्रा अनियन्त्रित भएमा तथा अन्य जटिल लक्षण देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा आफ्नो स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board