एमसिसी परिमार्जनका लागि सहजीकरणको भूमिका खेल्छु: युवराज खतिवडा

काठमाडौं, २७ कात्तिक । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले नेपाल र अमेरिकाबीच भएका सबै सन्धि, सम्झौतालाई प्रभावकारी रूपमा अगाडि बढाउन आफूले भूमिका खेल्ने बताएका छन् । संघीय संसद्को संसदीय सुनुवाइ समितिको आजको बैठकमा संसदीय सुनुवाइका क्रममा खतिवडाले राजदूत भएर आफु अमेरिका गएपछि दुई देशबीचको आर्थिक सहकार्यलाई थप बल दिनेमा जोड दिए ।

खतिवडाले आफू एमसिसी पक्षधरसँग सम्पर्कमा रहेको बताए । नेपाल सरकार र अमेरिकी सरकारबीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी सम्झौता) लाई लिएर संसदीय सुनुवाईका क्रममा सोधिएका प्रश्नको जवाफमा आफूले सहजीकरणको भूमिका खेल्ने बताएका हुन् ।

संसदीय सुनुवाइ समितिको बिहीबार सिंहदरबारमा बसेको बैठक । बैठकमा सयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदुत डा. युवराज खतिवडाको सुनुवाइ हुँदै । तस्वीरः रासस

उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषका केन्द्रीय कार्यालय अमेरिकामा रहेका र ती संस्थामा अमेरिकाको बोलबाला रहेकाले त्यहाँबाट नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताए । एसियाली विकास बैंकमा पनि अमेरिकी सरकारको कुरा चल्ने भएकाले आफूले त्यहांबाट लगानी ल्याउन राजदूतका रूपमा आफूले भूमिका खेल्ने उनको धारणा थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडाले आफूले आर्थिक कूटनीतिमा जोड दिने धारणा राखेका थिए । नेपाल र अमेरिकी सरकारबीच भएको एमसीसी सम्झौता संसदमा रहेको छ ।

पूर्व अर्थमन्त्रीसमेत रहेका खतिवडाले पार्टी भित्रको चासो नजिकबाट सुनेको बताउँदै भने, ‘एमसिसीका सन्दर्भमा जे-जे उठेका छन् केही उपयुक्त छन्। केही बुझाइको फरकले छन्। हाम्रो बुझाइको फरकमा बुझाउने काम मेरो हुन्छ। त्यसमा उहाँहरूले (एमसिसी पक्षधरले) पनि भन्नुभएको छ। नियमित सम्पर्कमा छु। स्पष्ट पार्नु पर्ने कुरा स्पष्ट पारौंला। कतिपय नोट एक्सजेन्ज गरेर स्पष्ट पारौंला कतिपय लेटर अफ एक्सजेन्जबाट मिलाउन सकिन्छ त्यसलाई पनि मिलाउँला।’

खतिवडाले भने, ‘हिजो सरकारमा थिएँ। म अर्थमन्त्री भएकाले त्यसलाई संसदबाट पास गराउन मेरो निर्णायक भूमिका हुन्थ्यो। यस्तो वा त्यस्तो गरौं भन्न सक्थें। म अब परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्ने ठाँउमा हुन्छु। मेरो निजी विचार केही होलान् तर अब म एमसिसीको सन्दर्भमा सरकारले दिने निर्देशन पालना गर्ने हो,’ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति