विश्वभर कोरोनाबाट एकैदिन १० हजारको मृत्यु : ६ लाख ३ हजार १३१ जनामा संक्रमण

काठमाडौँ, २७ कात्तिक । विश्वभर कोरोनाको मृत्युदरमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च हो ।

मृत्युदर बढ्दै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ८८ हजार ७२२ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

युरोपमा कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत पहिलो देश हो भने विश्वमा पाचौँ हो । ।

हालसम्म अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

बेलायतमा पछिल्लो २४ घण्टामा ५९५ संक्रमितको मृत्यु भएको छ ।

योसँगै त्यहाँ मृतकको कुल संख्या ५० हजार ३६५ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ ।

युरो पमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। स्पेनमा मृतकको संख्या ४२ हजार ९५३ पुगेको छ।

फ्रान्समा ४२ हजार ५३५ र स्पेनमा ४० हजार १०५ जनाको मृत्यु भइसकेको छ। संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

मृतकको संख्या बढ्न थालेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पछिल्लो समय प्राप्त तथ्याङ्कहरुले खोपको आशा दिलाएको बताएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ३ हजार १३१ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड २४ लाख ११ हजार ४५२ पुगेको छ ।

यसमध्ये ३ करोड ६६ लाख ५५ हजार ११ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६८ हजार ९१८ जना संक्रमणमुक्त भएका छन् ।

विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४४ लाख ६७ हजार ७१९ पुगेको छ । उपचार गराइरहेकामध्ये ९४ हजार ७३९ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति